News Desk
काठमाडौं । राजधानी काठमाडौंसहित नेपालका विभिन्न स्थानहरूमा हिजोदेखि देखिएका हिंसात्मक घटनाप्रति काठमाडौं जेसिजले गहिरो दुःख प्रकट गरेको छ। जारी प्रेस विज्ञप्तिमा संगठनले घटनाका कारण ज्यान गुमाउनुपर्ने दुखद अवस्था र कैयौं नागरिक घाइते भएकोप्रति गहिरो संवेदना व्यक्त गरेको छ।
जेसिजले पीडित परिवारजन तथा प्रभावित व्यक्तिहरूप्रति हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। प्रेस विज्ञप्तिमा भनिएको छ, “हाम्रो संस्थाले शान्तिपूर्ण सभा र अभिव्यक्ति स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति दृढ समर्थन व्यक्त गर्दछ।”
युवा पुस्ताका न्यायोचित मागलाई सम्बोधन गर्न सरकार असफल भएको भन्दै विज्ञप्तिमा यसलाई ‘अकर्मण्यताको पराकाष्टा’ को संज्ञा दिइएको छ। शान्ति सुव्यवस्था कायम गर्न नसक्नु र विधिको शासन स्थापित गर्न असफल हुनु सरकारको गैरजिम्मेवारीपन भएको जेसिजको आरोप छ।
“यस्ता अमानवीय, क्रूर र निर्दयी कार्यको काठमाडौं जेसिज निन्दा गर्दछ,” विज्ञप्तिमा उल्लेख छ। साथै, घटनाको सम्पूर्ण जिम्मेवारी सरकार स्वयंमाथि हुने जेसिजले स्पष्ट पारेको छ।
जनतामा बढ्दै गएको निराशा र नैराश्यता सम्बोधन गरी विश्वासमा लिनु सरकारको मूल कर्तव्य भएको उल्लेख गर्दै जेसिजले सम्बन्धित पक्षलाई संयम अपनाउन, परिस्थितिलाई थप बिग्रन नदिई शान्तिपूर्ण समाधान खोज्न र नागरिकका मौलिक अधिकारको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गरेको छ।
विज्ञप्तिमा काठमाडौं जेसिज २०२५ का अध्यक्ष श्याम कुमार घिमिरे र महासचिव नवराज भण्डारीको संयुक्त हस्ताक्षर रहेको छ।