News Desk
काठमाडौं, भदौ २७ |राष्ट्रिय उपभोक्ता मञ्चले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा सहयोगी, सहृदयी तथा साथ दिने सम्पूर्ण महानुभाव र संस्थाप्रति आभार प्रकट गरेको छ। तर हालको राजनीतिक तथा सामाजिक परिस्थितिका कारण औपचारिक कार्यक्रम आयोजना गर्न नसकेको भन्दै मञ्चले क्षमायाचना पनि गरेको छ।
मञ्चले विज्ञप्तिमा विगत दुई दशकदेखि भ्रष्टाचार, कालोबजारी, तस्करी र बिचौलियाविरुद्ध निरन्तर आवाज उठाउँदै आएको स्मरण गराएको छ। तर, सरकार र नेतृत्व वर्ग सत्ताको उन्मादमा रमाउँदै जनताको गुनासोप्रति संवेदनशील नभएको आरोप लगाइएको छ। “आम उपभोक्ताको दैनिक जीवन सहज बनाउनुपर्ने राज्य नेतृत्व उल्टै कार्टेलिङ र सिण्डिकेटिङलाई संरक्षण गर्दै आएको कारण आज जेन जेड पुस्ता सडकमा आउन बाध्य भएको हो,” विज्ञप्तिमा उल्लेख छ।
बजारमा अत्यावश्यक वस्तुको मूल्यवृद्धि, अस्वाभाविक आपूर्ति संकट र कृत्रिम तथ्याङ्क तयार गरेर जनतालाई भ्रममा पार्ने प्रवृत्तिले सरकारमाथिको विश्वास गुमेको मञ्चको निष्कर्ष छ।
यद्यपि, हालैको आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति, सांस्कृतिक धरोहर र ऐतिहासिक संरचनामा भएको तोडफोड, आगजनी र लुटपाटप्रति मञ्चले गम्भीर दुःख व्यक्त गरेको छ। “देशको इतिहासमाथि खेलवाड गर्नु अस्वीकार्य छ, यसका लागि सम्बन्धित पक्ष जिम्मेवार हुनैपर्छ,” विज्ञप्तिमा भनिएको छ।
मञ्चले नयाँ सरकारले जेन जेडले उठाएका मुद्दाहरुलाई अक्षरशः कार्यान्वयन गर्दै उत्पादन, आपूर्ति र सुशासन सुनिश्चित गर्नुपर्ने माग राखेको छ। साथै, भ्रष्टाचारमा संलग्न जो–कोहीमाथि निस्पक्ष छानबिन गरी कडा कारबाही गर्नुपर्ने, भ्रष्टाचारबाट आर्जित सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने र प्रजातान्त्रिक मूल्य–मान्यताअनुसार राज्य सञ्चालन गर्नुपर्ने माग गरेको छ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्ताको पक्षबाट आम नागरिकलाई अमनचयन र सुख शान्तिको अनुभूति दिने गरी सरकार अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।