News Desk
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले मुलुकमा अन्तरिम सरकार गठन र संसद् विघटनपछि आन्दोलनकारी जेन–जेड (Gen-Z) प्रती सम्मान व्यक्त गरेका छन्।
शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गरेपछि उनले तत्कालै प्रतिनिधि सभा विघटन गर्ने घोषणा गरेकी थिइन्। यो घटनाक्रमलाई देशको राजनीतिक संक्रमणलाई नयाँ दिशामा मोड्ने कदमका रूपमा हेरिएको छ।
यसैबीच, मेयर बालेनले सामाजिक सञ्जालमार्फत जेन–जेड आन्दोलनकारीको योगदानलाई विशेष प्रशंसा गरेका छन्। उनले लेखेका छन्, “प्रिय जेन–जेड, तपाईंहरूको योगदान र बलिदानबाट मुलुकमा ऐतिहासिक परिवर्तन सम्भव भएको छ। वीर सहिदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैँ भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधमा मार्गदर्शन गर्नेछ।”
भ्रष्टाचार र बेथितिविरुद्ध भदौ २३ गते काठमाडौँको बानेश्वरसहित देशभरका सहरहरूमा भएको जेन–जेड आन्दोलनमा प्रहरीले दमन गर्दा १९ जनाको मृत्यु भएको थियो भने सयौँ घाइते भएका थिए। त्यसपछिका दिनहरूमा आन्दोलन थप चर्किँदै जाँदा प्रदर्शनकारीले संसद् भवन, सिंहदरबार र सर्वोच्च अदालतमा आगजनी गरेका थिए।
उक्त घटनापछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए। आन्दोलनमा ज्यान गुमाउनेहरूको संख्या हालसम्म ५१ पुगेको छ भने अझै पनि धेरै घाइते अस्पतालमा उपचाररत छन्।