News Desk
नवनियुक्त प्रधानन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्दै हुनुहुन्छ । सिंहदरवार स्थित गृह मन्त्रालयका लागि निर्माण गरिएको नयाँ भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय बनाइएको छ । सोही भ्रवनमा प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गर्नुहुने कार्यक्रम छ ।
यसै गरी प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकारका मन्त्रीहरू पनि आजै चयन गर्नु हुने अपेक्षा गरिएको छ । भ्रष्टाचारविरुद्ध आन्दोलन गरेको जेन जीले नयाँ मन्त्री चयनका लागि विभिन्न व्यक्तिहरूको योगदान र उनीहरूको विगतबारे छलफल र मतदान गरिरहेको छ ।
देश र विदेशमा रहेका युवाहरू डिस्कर्डमा जोडिएर छलफल गरिरहेका छन् । उनीहरूले भावी मन्त्रीका विगतका आचरण र अन्तरिम सरकारमा तिनले गर्न सक्ने कार्यबारे छलफल गरिरहेका छन् ।
यसअघि प्रधानमन्त्री चयन गर्दा पनि विभिन्न व्यक्तिबारे युवाहरूले डिस्कर्डमा मतदान गराएका थिए । अन्तिममा सबभन्दा बढी मत प्राप्त गर्ने सुशीला कार्कीको नाम प्रधानमन्त्रीमा छनौट गरिएको थियो । भ्रष्टाचारविरोधी जेन जी आन्दोलन पनि डिस्कर्डबाटै आह्वान गरेर सफल बनाइएको थियो ।