गुल्मी अस्पतालका ६ जना विशेषज्ञ डक्टरलाई रेसुङ्गा नगरपालिकाले प्रोत्साहन भत्ता उपलब्ध गराउने
News Desk
Sep-16 , 2025 तारिख 04:50 बेलुका

गुल्मी अस्पतालका ६ जना विशेषज्ञ डक्टरलाई रेसुङ्गा नगरपालिकाले प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ । अस्पतालमा विशेषज्ञ चिकित्सकको सेवा निरन्तरता र टिकाउपन कायम राख्ने उद्देश्यले नगरपालिकाले यस्तो कार्यक्रम ल्याएको हो । सोमबार नगरपालिकाको कार्यकक्षमा आयोजित कार्यक्रममा नगरप्रमुख खिल ध्वज पन्थीले अस्पतालका डक्टरहरूसँग प्रोत्साहन भत्ता उपलब्ध गराउने बारे सम्झौता गरेका हुन् ।

नगरपालिकाले डक्टरहरूले नेपाल सरकारबाट पाउने तलब बराबरकै प्रोत्साहन भत्ता दिने निर्णय गरेको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिल ध्वज पन्थीले बताउनुभयो । यसअघि हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डक्टरलाई मात्र प्रोत्साहन दिँदै आएको नगरपालिकाले अबदेखि सबै विशेषज्ञ डक्टरलाई सुविधा उपलब्ध गराउने भएको हो । यसका लागि नगरपालिकाले ४० लाख रुपैयाँ खर्च गर्ने जनाएको छ ।

प्रोत्साहन भत्ता पाउने विशेषज्ञ डक्टरमा अस्पताल प्रमुख तथा आन्तरिक चिकित्सा विशेषज्ञ डा. विभव बस्याल, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. प्रदीप सिवाकोटी, सामान्य तथा आकस्मिक चिकित्सक विशेषज्ञ डा. अर्जुन केसी, आन्तरिक चिकित्सा विशेषज्ञ डा. सुरेन्द्र केसी, बाल रोग विशेषज्ञ डा. प्रज्ञा शाक्य, र स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. शोफिष थापा रहेका छन् । हाल गुल्मी अस्पतालमा ६ जना विशेषज्ञ डक्टरसहित १८ जना मेडिकल अधिकृत कार्यरत छन् ।

पछिल्लो समय एकै पटक यति धेरै सङ्ख्यामा डक्टर नियुक्त हुनु गुल्मी अस्पतालका लागि पहिलो पटक भएको जनाइएको छ । यसले जिल्लावासीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन महत्त्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको रेसुङ्गा नगरपालिकाले जनाएको छ । नगरपालिकाले गरेको यस्तो निर्णयले गुल्मी अस्पतालमा सेवाग्राहीको चाप बढ्दै गएको छ ।