News Desk
नेपालको प्रजातान्त्रिक आन्दोलनका शीर्ष योद्धा गणेशमान सिंहको २८औँ स्मृति दिवस बिहीबार विभिन्न कार्यक्रमसहित मनाइँदै छ। साहस र त्यागको प्रतीक मानिएका सिंहलाई नेपाली राजनीतिमा प्रेरणाको श्रोतका रूपमा सम्झना गरिन्छ।
वि.सं. २०४६ को ऐतिहासिक जनआन्दोलनमा सर्वोच्च कमान्डरको जिम्मेवारी सम्हालेका उनले प्रजातन्त्र पुनःस्थापनामा निर्णायक योगदान दिएका थिए। आन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न आग्रह गर्दा सिंहले त्यो अवसर अस्वीकार गरी समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै त्यागको अद्वितीय उदाहरण प्रस्तुत गरेका थिए।
वि.सं. १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिएका गणेशमान सिंहको निधन २०५४ असोज २ गते भएको हो। खानदानी परिवारमा जन्मिएका उनले १९९७ सालमै प्रजा परिषद्का सदस्य भएर राणा शासनविरुद्धको आन्दोलनमा सक्रिय भूमिका खेले। यस क्रममा उनी कारागारमा समेत परे तर भद्रगोल जेल फोडेर भाग्न सफल भई भारत पुगेका थिए। त्यहाँ बीपी कोइरालासँग निकट सम्बन्ध बनाउँदै २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको विस्तारमा उल्लेखनीय योगदान दिए।
२००७ सालको क्रान्तिमा वीरगञ्ज मोर्चामा सशस्त्र संघर्षको नेतृत्व गरेका सिंह २०१५ सालको पहिलो चुनावपछि बनेको सरकारमा वरिष्ठ मन्त्री बने। तर २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि उनले सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा आठ वर्ष जेल जीवन व्यतित गरे। २०२५ मा बीपीसँगै मुक्त भएपछि प्रवासमा कांग्रेसको सञ्जाल विस्तार गरे।
२०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिँदै स्वदेश फर्किएका सिंहले पञ्चायती व्यवस्थाविरुद्ध निरन्तर संघर्ष गरे। २०३६ को विद्यार्थी आन्दोलनदेखि २०४२ को सत्याग्रहसम्म उनले कांग्रेसको सर्वोच्च नेतृत्वमा रहेर आन्दोलन अघि बढाए। अन्ततः २०४६ को जनआन्दोलनमा कम्युनिष्टहरूसँग मिलेर पञ्चायत समाप्त गर्ने निर्णायक संघर्षमा उनी सर्वोच्च कमान्डरका रूपमा स्थापित भए।
आज उनको स्मृतिमा नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संगठनहरूले विविध कार्यक्रम आयोजना गरिरहेका छन्। बिहान ७ः४५ बजे शोभाभगवतीस्थित गणेशमान सिंहको सालिकमा माल्यार्पण कार्यक्रम हुने बताइएको छ।