News Desk
गोरखा, असोज २ – हालै भदौ २३ र २४ मा भएको Gen-Z आन्दोलनको क्रममा ज्यान गुमाएका युवा शहीदप्रति बुढिगण्डकी जलविद्युत आयोजना सरोकार समितिले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ। समितिले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरुलाई शीघ्र स्वास्थ्यलाभको शुभकामना पनि दिएको छ।
समितिका अध्यक्ष दिनेशकुमार ढकालले जारी गरेको विज्ञप्तिमा नयाँ बनेको सरकारले सुशासन कायम गर्ने ठूलो अपेक्षा जनतामा रहेको उल्लेख गरिएको छ। तर, राज्यले ४५ अर्ब भन्दा बढी लगानी गरिसकेको बुढिगण्डकी जलविद्युत आयोजना अझै पनि अन्यौलमा अल्झिएको भन्दै सरोकार समितिले चिन्ता व्यक्त गरेको छ।
विज्ञप्तिमा विगतका सरकारहरूको कुशासनका कारण आयोजना अलपत्र बनेको आरोप लगाउँदै नयाँ सरकारले लोककल्याणकारी राज्यको मर्मअनुसार तत्काल निर्माण कार्य अघि बढाउने पहल गर्न आग्रह गरिएको छ।
“स्थानीय बासिन्दाहरूको तर्फबाट हामी सरकारले बुढिगण्डकी जलविद्युत आयोजना निर्माणलाई प्राथमिकतामा राखेर अगाडि बढाउन जोडदार माग गर्दछौं,” विज्ञप्तिमा भनिएको छ।
बुढिगण्डकी जलविद्युत आयोजना नेपालको ठूला जलविद्युत आयोजनामध्ये एक हो, तर लामो समयदेखि राजनीतिक असहमति र निर्णयहीनताका कारण यो आयोजना रोकिएको छ। स्थानीयवासी र सरोकारवाला पक्षले यसलाई राष्ट्रिय गौरवको आयोजना मान्दै तत्काल अघि बढाउन सरकारसँग दबाब दिइरहेका छन्।
