शेरबहादुर देउवाको निजी सचिवालयद्वारा भ्रामक प्रचार गरियो भन्दै जनायो आपत्ति
News Desk
Sep-19 , 2025 तारिख 12:12 बेलुका

काठमाडौं, असोज २ – नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयले हालैका दिनमा सामाजिक सञ्जाल र विभिन्न माध्यममार्फत भइरहेका भ्रामक प्रचारप्रति आपत्ति जनाएको छ।

प्रेस विज्ञप्ति मार्फत सचिवालयले जेने–जेडी आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण र घाइतेहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

तर, पछिल्ला घटनापछि पार्टी र पार्टी नेतृत्वलाई बदनाम गर्ने उद्देश्यले विभिन्न भ्रामक सूचना र फोटोहरू प्रयोग गरी नियोजित प्रचार गरिएको सचिवालयको आरोप छ। विज्ञप्तिमा उल्लेख भएअनुसार, ‘पेट्रोलको सुस्केरा’ भन्दै सामाजिक सञ्जालमा फैलाइएका सामग्रीहरू निराधार र कपोकल्पित भएको स्पष्ट गरिएको छ।

सचिवालयले स्पष्ट रूपमा भनेको छ कि शेरबहादुर देउवा निवासमा आगजनी वा तोडफोडजस्ता कुनै गतिविधि नभएको र त्यससम्बन्धी सार्वजनिक गरिएका फोटो तथा सामग्रीहरू भ्रामक भएको प्रमाणित भएको छ।

त्यसैगरी, विज्ञप्तिमा विभिन्न सामाजिक सञ्जालमा देउवा परिवार र घरलाई लक्षित गरी फैलाइएका सामग्रीहरू राजनीतिक स्वार्थअनुरूपका झुटा प्रचार भएको दाबी गरिएको छ।

“जनमानसमा भ्रम सिर्जना गर्ने उद्देश्यले योजनाबद्ध ढंगले बनावट सामग्री प्रवाह गरिँदै आएको छ, यस्ता गतिविधिबाट पार्टी र नेताको छवि धमिल्याउने प्रयास भएको छ,” विज्ञप्तिमा भनिएको छ।

सचिवालयले यस्ता भ्रामक गतिविधिबाट सचेत रहन सबै समर्थक, शुभेच्छुक र नेपाली जनतासमक्ष अपील गर्दै आधारहीन प्रचारप्रति विश्वास नगर्न आग्रह गरेको छ।