News Desk
बाराको अमलेखगञ्ज क्षेत्रमा पटक-पटक मानिसमाथि प्राणघातक आक्रमण गर्दै आएको नरभक्षी बाघलाई आज नियन्त्रणमा लिइएको छ। पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना र स्थानीय जनप्रतिनिधिहरू सम्मिलित संयुक्त टोलीले ‘डार्ट’ प्रयोग गरेर बाघलाई सफलतापूर्वक नियन्त्रणमा ल्याएको हो।
निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगतका अनुसार अमलेखगञ्जस्थित सामुदायिक वनमा देखिएको बाघ नै मान्छेमाथि आक्रमण गर्ने भएको पुष्टि भएपछि नियन्त्रणमा लिइएको हो। उनले बताएअनुसार गत असारयता सो क्षेत्रमा बाघको आक्रमणबाट चार जनाले ज्यान गुमाएका थिए। यस घटनापछि स्थानीय बासिन्दा लगातार त्रसित बनेका थिए।
जनताको डर कम गर्न र थप दुर्घटना रोक्न प्राविधिक टोलीले विशेष अभियान सञ्चालन गरी बाघलाई नियन्त्रणमा ल्याएको भगतले जानकारी दिए। हाल नियन्त्रणमा लिइएको बाघलाई पर्सा राष्ट्रिय निकुञ्जको रेस्क्यू सेन्टरमा राखिएको छ, जहाँ त्यसको अवस्था निगरानीमा राखिनेछ।