देशभर सार्वजनिक र निजी सम्पत्तिमाथि भएका तोडफोड र आगजनीको घटनाप्रति कांग्रेसले ग​र्यो निन्दा
News Desk
Sep-20 , 2025 तारिख 12:18 बेलुका

नेपाली कांग्रेसले हाल देशभर सार्वजनिक र निजी सम्पत्तिमाथि भएका तोडफोड र आगजनी घटनाप्रति कडा आपत्ति जनाएको छ। शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले ती घटनाको न्यायिक छानबिन गर्न माग गर्दै दोषीलाई कारबाहीका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारलाई आग्रह गरेको छ।

बैठकका निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने, “सार्वजनिक र निजी सम्पत्तिमाथि भएको तोडफोड र आगजनी अस्वीकार्य छ। यसको सत्य तथ्य बाहिर ल्याउन उच्च न्यायिक छानबिन समितिको आवश्यकता छ।” उनले संविधानलाई मुलुकको सर्वोच्च कानुन भएको उल्लेख गर्दै जटिल समस्या र असहमतिको समाधान संविधानकै दायराभित्र खोजिनुपर्नेमा जोड दिए।

कांग्रेसले साथै हाल उठाइएका जेनजी आन्दोलनका उचित मागहरूलाई आत्मसात गर्नुपर्ने र विधिसम्मत तरिकाले समाधान गर्नुपर्ने निष्कर्ष निकालेको छ। बैठकमा पार्टीलाई अझ सुदृढ र गतिशील बनाउनुपर्ने आवश्यकता पनि जोडदार रूपमा उठाइएको प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिए।

तर, बैठकमा पार्टी पुनर्गठन वा महाधिवेशनसम्बन्धी एजेन्डामा भने छलफल नभएको स्पष्ट पार्दै उनले यसबारे सार्वजनिक रूपमा उठेका विचारहरू व्यक्तिगत हुन सक्ने टिप्पणी गरे।