देउवा र खड्काको घरमा भेटिएको नगदबारे छानबिन गर्न सम्पत्ति शुद्धीकरण विभागले खटायो टोली
News Desk
Sep-22 , 2025 तारिख 11:18 बिहान

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वमन्त्री दीपक खड्काको घरमा भेटिएको पैसासम्बन्धी घटनाबारे छानबिन गर्न सम्पत्ति शुद्धीकरण विभागको टोली आइतबार बुढानीलकण्ठ  पुगेको छ। हरिहर भवनस्थित विभागका एसपी नवरत्न पौडेलसहितको टोलीले दुवै घरमा पुगेर मुचुल्का उठाएको उच्च स्रोतले जानकारी दिएको छ।

जेन–जेड आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले देउवा र खड्काको घरमा आगजनी गरेका थिए। त्यसपछि सार्वजनिक भएका केही भिडियोहरूमा घरभित्र ठूलो मात्रामा नगद रहेको देखाइएको थियो। देउवाको निवासमा अमेरिकी डलरसहित हजार र पाँच सयका नोटका जलेका टुक्रा भेटिएको र रकम राख्न प्रयोग गरिएको सुरुङसमेत रहेको दाबी गरिएको छ।

त्यस्तै, पूर्वऊर्जा मन्त्री खड्काको घरमा पनि नगद रहेको भन्दै केही भिडियो सार्वजनिक भएका थिए, जसमा पैसा उडिरहेको दृश्य देखिएको थियो। यी भिडियोहरू सार्वजनिक भएपछि विभागको टोलीले आज औपचारिक मुचुल्का तयार पारेको हो।

विभागका स्रोतका अनुसार जलेको घरको अवस्था, भेटिएको रकम र सुरक्षित गर्ने स्थानलगायतका विवरण संकलन गरिएको छ। अब प्राप्त मुचुल्काका आधारमा थप अनुसन्धान अघि बढाइने जनाइएको छ। विभागको टोली घटनाको ११ दिनपछि मात्र घटनास्थल पुगेको हो।