चार नवनियुक्त मन्त्रीले गरे शपथ ग्रहण
News Desk
Sep-22 , 2025 तारिख 09:27 बेलुका

काठमाडौँ । राष्ट्रपति निवास शीतलनिवासमा आयोजित विशेष समारोहमा चार नवनियुक्त मन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ ग्रहण गराएका हुन्।

शपथ लिने मन्त्रीहरूमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, वरिष्ठ पत्रकार जगदीश खरेल र विज्ञ मदन परियार रहेका छन्। मन्त्रालयको जिम्मेवारीअनुसार सिन्हाले उद्योग, कानुन तथा भूमि मन्त्रालय, पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खरेलले सञ्चार तथा सूचना मन्त्रालय र परियारले कृषि मन्त्रालयको पदभार ग्रहण गरेका छन्।

स्वास्थ्य सचिव डा. संगीता मिश्राको नाम पनि मन्त्रीका लागि सिफारिस गरिएको थियो। तर अन्तिम समयमा उनको नाम ‘होल्ड’ गरिएको छ।

गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा हालसम्म आठ सदस्यीय मन्त्रिपरिषद् बनेको छ।

शपथ समारोहमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानमन्त्री सुशीला कार्की लगायत उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो।