News Desk
जिल्ला प्रशासन कार्यालय काठमाडौंले हाललाई राहदानी र राष्ट्रिय परिचयपत्र वितरण सेवा बन्द गरिएको जनाएको छ। भदौ २४ गते जेन–जेड समूहको प्रदर्शनका क्रममा भएको आगजनीले कार्यालयको संरचना र अभिलेखहरूमा ठूलो क्षति पुर्याएपछि सेवाप्रवाह असम्भव भएको हो।
कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीका अनुसार सेवा पूर्ववत सञ्चालन गर्न निरन्तर प्रयास भइरहेको छ। तर आवश्यक तयारी पूरा नभएसम्म सेवाग्राहीले वैकल्पिक व्यवस्था अपनाउनुपर्ने भएको छ।
सोमबार सार्वजनिक गरिएको विज्ञप्तिमा तत्कालै आवश्यक परेमा राहदानी सेवा लिन त्रिपुरेश्वरस्थित राहदानी विभाग र राष्ट्रिय परिचयपत्र सेवा लिन नारायणहिटी दरबारमा रहेको इकाइमा जान आग्रह गरिएको छ।
कार्यालयले सर्वसाधारणलाई असुविधा कम गर्न आवश्यक समन्वय भइरहेको बताउँदै यथाशीघ्र सेवा सञ्चालनमा ल्याउने प्रतिबद्धता पनि जनाएको छ।