शिक्षा मन्त्री पुनका लागि मिलाईयो म​न्त्राल​य​ भित्रै बास​को व्य​व​स्था
News Desk
Sep-24 , 2025 तारिख 11:35 बिहान

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार सम्हालेसँगै आफूलाई दिएको जिम्मेवारी पूरा नगरेसम्म विश्राम नगर्ने स्पष्ट संकेत गरेका छन्।

मंगलबार केशरमहलस्थित शिक्षा मन्त्रालयमै बस्ने व्यवस्था मिलाउँदै उनले समय खेर नफाल्ने दृढता व्यक्त गरे। मन्त्री पुनले भने, “बाहिर डेरा खोजेर बस्ने ठाउँ छैन, त्यहाँ काम पनि छैन। त्यसैले २४ घण्टा यहीँ मन्त्रालयमै रहन्छु। म कुनै काममा लागेपछि अधुरै छोड्ने मान्छे होइन।”

उनका अनुसार, मन्त्री भएपछि विभिन्न काम बुझ्न र परिणाम निकाल्न छोटो समयमै धेरै प्रयास गर्नुपर्ने हुन्छ। उनले स्मरण गरे, “यो बानी अहिलेको मात्र होइन, चितवनमा शिक्षक हुँदा देखिनै हो। काममा लागेपछि पूर्ण रूपमा सकिनुपर्छ भन्ने मेरो सोच हो।”

पुनले मन्त्रालयमा पर्याप्त ठाउँ भएकाले सुरक्षाकर्मीलाई पनि सहज हुने बताए। मन्त्रीस्तरीय प्रोटोकल अनुसार सुरक्षाकर्मीसमेत बाहिर डेरा बस्न असजिलो हुने भएकाले मन्त्रालयमै बस्ने निर्णय लिएको उनले प्रस्ट्याए।

उनले बाहिरी औपचारिक कार्यक्रममा कम जाने र मन्त्रालयमै कामलाई प्राथमिकता दिने जनाए। पुनका शब्दमा, “मन्त्री पद त जम्मा ६ महिनाको लागि मात्र हो। पहिलो महिना त औपचारिकतामै बित्छ, अन्तिम महिना चुनावको तयारीमा। वास्तवमा काम गर्न पाउने समय चार महिनाभन्दा बढी हुँदैन। त्यसैले उद्घाटन, भाषण वा भ्रमणमा समय खर्च गर्ने सोच छैन।”

सोमबार शपथ ग्रहण गरेका मन्त्री पुनले मन्त्रालयमै बस्न आवश्यक व्यवस्था मिलाइदिन आग्रह गरेका थिए। उनको आग्रह अनुसार केशरमहलमै खाना पकाउने भान्छा र सुत्ने कोठासहित सुविधा उपलब्ध गराइएको छ।