News Desk
काठमाडौं – जेन–जी आन्दोलन सफल भई नयाँ सरकार बनेसँगै आन्दोलनका अगुवा सुदन गुरुङ नेतृत्वको समूहले आगामी ६ महिनापछि हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने उद्देश्यसहित नयाँ राजनीतिक दल गठनको तयारी थालेको छ।
गुरुङ समूहले आन्दोलनमा सक्रिय कार्यकर्ताहरूलाई एउटै छातामुनि ल्याएर एकीकृत राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य लिएको छ। सोही अनुसार सुदन गुरुङलाई केन्द्रीय संयोजक तोकिएको छ भने सातै प्रदेशमा प्रदेश संयोजकहरूको जिम्मेवारी बाँडिएको छ।
कोशी प्रदेशमा उपार्जुन राई, मधेशमा शिव यादव, बागमतीमा किरण आचार्य, गण्डकीमा प्रदीप पाण्डे, लुम्बिनीमा आदित्य आचार्य, कर्णालीमा सुप्रिया शाही र सुदूरपश्चिममा खेमराज साउद संयोजक तोकिएका छन्। यी संयोजकहरूले जिल्लास्तरीय संरचना बनाएर नगर तथा स्थानीय कमिटीसम्म सम्मेलन सम्पन्न गर्ने जिम्मा पाएका छन्। सम्मेलनपछि दल दर्ता प्रक्रिया अघि बढाइने तयारी छ।
गुरुङ समूहले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनलाई “राजनीतिक क्रान्ति”को रूपमा राज्यले मान्यता दिनुपर्ने माग गरेको छ। आगामी चुनावमार्फत दुईतिहाइ बहुमत ल्याएर संविधान संशोधन गर्ने, २०४६ सालपछिका भ्रष्टाचारका घटनाको छानबिन गर्ने, स्रोत नखुलेका सम्पत्ति राष्ट्रियकरण गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई चुनावी एजेन्डा बनाउने योजना समूहले सार्वजनिक गरेको छ।
साथै, गुरुङ समूहले छिट्टै हुने मन्त्रिपरिषद् विस्तारमा जेन–जी आन्दोलनका प्रतिनिधिहरू सहभागी हुने दाबी पनि गरेको छ।