News Desk
काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगलाई तोकिएको मितिमा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तत्काल तीव्र बनाउन निर्देशन दिएकी छिन्। मंगलबार आयोगका पदाधिकारीसँगको छलफलमा उनले फागुन २१ गते हुने निर्वाचनका लागि सरकार पूर्ण सहयोग गर्न तयार रहेको स्पष्ट गरेकी हुन्।
प्रधानमन्त्री कार्कीका अनुसार निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित, विश्वसनीय, मितव्ययी र सहभागीमूलक ढंगले सम्पन्न गर्न आवश्यक पर्ने जनशक्ति, बजेट तथा सम्पूर्ण स्रोत साधन उपलब्ध गराउने जिम्मा सरकारले लिनेछ। उनले भनिन्, “तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु अन्तरिम सरकारको प्रमुख दायित्व हो। त्यसका लागि सबै संयन्त्र एकै दिशामा लाग्ने प्रतिबद्धता सरकारको छ।”
आयोगको तयारीबारे जानकारी दिँदै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतपेटिकासहित मतदान प्रक्रियामा आवश्यक पर्ने अधिकांश सामग्री मौज्दात रहेको बताए। अपुग सामग्री खरिद गर्दा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति आयोगले अपनाएको पनि उनले उल्लेख गरे।
भण्डारीले निर्वाचनलाई सफल बनाउन राजनीतिक दल, नागरिक समाज, सञ्चार माध्यम र सरोकारवाला निकायहरूसँग निरन्तर संवाद र समन्वय गर्ने तयारी भइरहेको जानकारी दिए।
छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा, गृहमन्त्री ओमप्रकाश अर्याल र मुख्य सचिव एकनारायण अर्याल पनि उपस्थित थिए।