News Desk
गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा सुमार्गी ग्रुप अफ कम्पनिजलाई करिब १५ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ।
उद्योगपति तथा समाजसेवी अजेयराज सुमार्गीले बिहीबार विभिन्न स्थानमा भएका आगजनी र तोडफोडबाट भएको क्षतिको विवरण सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन्। उनका अनुसार काठमाडौं महानगरपालिका–१० र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ र ११ मा रहेका निजी निवास तथा व्यावसायिक भवनमा आन्दोलनकारीहरूले आगजनी र तोडफोड गरेका थिए।
त्यस्तै, काठमाडौंको बबरमहलस्थित थाहा खबर डटकम र रेडियो थाहा सञ्चार नेटवर्कको कार्यालयसमेत रहेको व्यावसायिक भवनसहित अन्य दुई घरमा पनि लुटपाट र क्षति पुर्याइएको उनले बताए।
कम्पनीका तथ्यांकअनुसार तीनवटा निजी कार र तीनवटा मोटरसाइकललाई आगजनी गरी नष्ट गरियो भने ११ वटा गाडीमा तोडफोड गरिएको छ।
यति ठूलो क्षति बेहोर्नुपरे पनि सुमार्गीले युवाहरूको आक्रोशलाई स्वाभाविक ठहर गर्दै यसको जरो राजनीतिक नेतृत्वमा रहेको बताए। उनका अनुसार दलगत स्वार्थ, कुर्सी मोह, बढ्दो भ्रष्टाचार र दलीयकरणले समाजमा निराशा फैलाएको र त्यसको विस्फोट नै जेन–जी आन्दोलनको रूपले देखिएको हो।
“राजनीति ठगी खाने साधन बन्यो, जताततै भ्रष्टाचार र बेथितिले नागरिकलाई वाक्कदिक्क पार्यो। लामो समय सहँदा सहँदै विस्फोट भयो र जेन–जी युवाहरूले महाहवन गरे। ७४ जना शहीद भए, हजारौँ घाइते भए,” सुमार्गीले भने, “यो या त्यो कोणबाट सिंहदरबारसहितका संरचना समिधा हुँदा हाम्रो निजी सम्पत्ति पनि जलेर नष्ट भयो।”
थाहा मिडिया ग्रुपका संरक्षक समेत रहेका सुमार्गीले आगामी दिनमा राजनीति र अर्थ नीतिले कोल्टे फेर्नेमा विश्वास व्यक्त गरे।
उनले पुनर्निर्माणसँगै राजनीतिक शुद्धीकरण र आर्थिक पुनरुत्थानमा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता औंल्याउँदै, दलमा आबद्ध नभएका व्यक्तिलाई अन्तरिम सरकारमा पठाएको निर्णयलाई जेन–जी युवाको सकारात्मक कदम भन्दै प्रशंसा गरे।