News Desk
काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले पद्मोदय स्कुल परिसरमा रहेका सटर हटाएर त्यस स्थानलाई विद्यार्थीका लागि खेलमैदानमा रूपान्तरण गर्ने बताएका छन्। करिब ८० वर्ष पुरानो इतिहास बोकेको पद्मोदय स्कुलको जग्गामा स्थापना कालदेखि नै पसल सञ्चालन हुँदै आएको थियो।
शाहले सामाजिक सञ्जालमा लेख्दै सामुदायिक विद्यालयहरूमा पढाइ बाहेकका गतिविधि र भाडामा दिइएका सटरहरूले विद्यार्थीको पढाइमा बाधा पुर्याउँदै आएको बताएका छन्। उनका अनुसार, यस्ता कारणले विद्यालयले राम्रो सभा आयोजना गर्न र विद्यार्थीलाई पर्याप्त खेल मैदान उपलब्ध गराउन सक्दैनथ्यो।
“विद्यालयमा सबैभन्दा ठूलो हक विद्यार्थीको हुन्छ। विद्यालयहरू व्यापारिक थलो होइन, अध्ययन–अध्यापनको केन्द्र हुनुपर्छ भन्ने नीति अनुसार पद्मोदय स्कुलमा रहेका सटर हटाइएका हुन्,” मेयर शाहले भने।
उनका अनुसार पद्मोदय स्कुलमा खेलमैदान निर्माणका लागि टेन्डर आह्वान भइसकेको छ र विद्यालयले महानगरपालिकाबाट थप अनुदान समेत प्राप्त गर्नेछ। अन्य विद्यालयमा पनि पद्मोदय स्कुलमा जस्तै नीति लागू गरिने उनले स्पष्ट पारेका छन्।
शाहले गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राख्दै विद्यालय परिसरलाई व्यापारिक प्रयोजनमा प्रयोग गर्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भने, “विद्यालय शिक्षा विद्यार्थीका लागि मात्र होइन, देश, सभ्यता र संस्कृतिको भविष्यका लागि पनि प्रमुख विषय हो।”