News Desk
भारतको जोगवनी बजारमा शुक्रबार बिहान देखिएको साम्प्रदायिक तनाव अन्ततः मत्थर भएपछि नेपाल–भारत सीमा नाका पुनः सञ्चालनमा आएको छ। हिन्दू र मुस्लिम समुदायबीच झडप भएपछि दिउँसो १२ बजेदेखि करिब तीन घण्टासम्म विराटनगरको रानी नाकाबाट आवतजावत रोकिएको थियो।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार, झडपपछि सुरक्षाका दृष्टिले नेपाली नागरिकलाई भारत प्रवेशमा रोक लगाउँदै ठूलो संख्यामा सुरक्षाकर्मी सीमा क्षेत्रमा परिचालन गरिएको थियो। “अवस्था सामान्य भएपछि नाका पुनः सुचारु गरिएको छ। तर, फेरि तनाव उत्पन्न भए तुरुन्तै नाका बन्द गर्ने तयारी छ,” यादवले बताए।
शुक्रबार बिहान करिब ११ बजेतिर इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदबारे सामाजिक सञ्जालमा गरिएको आपत्तिजनक टिप्पणीका कारण मुस्लिम समुदाय आन्दोलित भएको थियो। त्यसपछि बजरंग दलका कार्यकर्ता सडकमा उत्रिएसँगै दुवै पक्षबीच झडप भएको भारतीय अधिकारीहरूले जनाएका छन्। प्रदर्शनका क्रममा लाठी, भाला बोकेर समूहगत भिडन्त मात्र नभई केही संरचनामा तोडफोड समेत भएको बताइएको छ।
तनाव बढेपछि जोगवनीतर्फ किनमेलमा गएका नेपालीहरू भाग्दै नेपाल फर्किएका थिए। सीमा क्षेत्रमा रोकिएका अन्य नेपालीहरूलाई पनि आवतजावत रोकिँदा नेपालतर्फ फर्किन बाध्य हुनुपर्यो।
स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा भारतीय सुरक्षाकर्मी परिचालन गरिएको थियो। भारतीय अधिकारीहरूले दुवै समुदायलाई संयमित रहन आग्रह गर्दै वार्तामार्फत विवाद समाधान गर्ने पहल गरेपछि अवस्था सामान्यतर्फ फर्किएको र नाका पुनः सञ्चालनमा आएको जनाएको छ।