ओलीसहित पाँच जना उच्च पदस्थ पूर्वअधिकारीहरूको विदेश भ्रमणमा रोक ल​गाउन​ सिफारिस​
News Desk
Sep-29 , 2025 तारिख 12:30 बेलुका

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जना उच्च पदस्थ पूर्वअधिकारीहरूको विदेश भ्रमणमा रोक लगाउन सिफारिस गरिएको छ। जेन–जी आन्दोलनका क्रममा भएको घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले यसबारे सिफारिस गर्दै उनीहरूलाई आवश्यक परेको खण्डमा तत्काल आयोगमा उपस्थित हुन सक्ने वातावरण सुनिश्चित गर्न माग गरेको हो।

आयोगका सदस्य विज्ञान राज शर्माका अनुसार विदेश भ्रमणमा रोक लगाइएकामध्ये ओलीसँगै तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, र तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल रहेका छन।

शर्माले बताएअनुसार यी सबै व्यक्ति जेन–जी आन्दोलनका क्रममा, अर्थात गत भदौ २३ र २४ गतेका घटनाक्रममा, आफ्नो–आफ्नो पदमा बहाल थिए र सोही अवधिमा आन्दोलन नियन्त्रणका क्रममा भएका घटनाका जिम्मेवारी र निर्णय प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न भएको ठहरिएको छ।

आयोगले उनीहरूलाई विदेश मात्र नभई उपत्यका छाडेर बाहिर जान पनि प्रतिबन्ध लगाउन सिफारिस गरेको छ। यस कदमको उद्देश्य अनुसन्धानलाई सहज र प्रभावकारी बनाउन तथा आवश्यक परेको बेला उनीहरूलाई छानबिनका लागि उपस्थित गराउन हो।

सदस्य शर्माले थपे, “घटनाबारे अझ विस्तृत छानबिनका लागि यी व्यक्तिहरूलाई जुनसुकै बेला आयोगमा उपस्थित हुनुपर्ने अवस्था आउन सक्छ। त्यसैले अनुसन्धान पूरा नहुँदासम्म उनीहरूलाई देश बाहिर जान वा उपत्यका छाड्न अनुमति नदिन सम्बन्धित निकायलाई पत्राचार गरिएको छ।”

जेन–जी आन्दोलन, जसले तत्कालीन सरकारमाथि ठुलो दवाव सिर्जना गर्‍यो, भदौ २३ र २४ मा चरम उत्कर्षमा पुगेको थियो। आन्दोलनका क्रममा भएको भिडन्त, सुरक्षाकर्मीको बल प्रयोग र मानवीय क्षतिलगायतका घटनाबारे आयोगले निरन्तर छानबिन गर्दै आएको छ।