डडेलधुराको अजयमेरु गाउँपालिका–५ देवलगाउँमा २९ वर्षीय युवक मृत फेला
News Desk
Sep-29 , 2025 तारिख 12:50 बेलुका

डडेलधुरा जिल्लाको अजयमेरु गाउँपालिका–५ देवलगाउँमा एक युवक मृत अवस्थामा फेला परेका छन। जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बर बिष्टका अनुसार २९ वर्षीय महेन्द्र सार्की असोज ८ गते राति आफ्नै कोठामा मृत भेटिएका हुन।

प्रहरीले घटनालाई शंकास्पद ठहर गर्दै मृतककी श्रीमती कमला सार्की र दाजु नाता पर्ने जोगराम सार्कीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। बिष्टका अनुसार घटनास्थलमा पुगेको प्रहरी टोलीले महेन्द्रको शव कोठाको खाट नजिकै भेटेको र नजिकै प्लास्टिकको डोरी फेला परेको जानकारी दिएको छ।

प्रहरीका अनुसार घटनास्थलको प्रारम्भिक अवस्था र फेला परेका प्रमाणका आधारमा मृत्यु शंकास्पद देखिएको छ। अनुसन्धान अघि बढाउँदै प्रहरीले मृतकका नजिकका नातेदारहरूलाई पुछताछ गरिरहेको छ।

सूचना अधिकारी बिष्टले बताएअनुसार मृतक महेन्द्र सार्कीको घरमा श्रीमती कमला सार्की, पाँच वर्षीय छोरा र अढाई वर्षीया छोरी बस्दै आएका थिए। दुई महिनादेखि कमला माइतीघरमा बस्दै आएकी थीन र घटनाको दुई दिनअघि मात्र घर फर्केकी थीन।

प्रहरीको प्रारम्भिक अनुसन्धानले मृतक दम्पतीबीच दैनिक झगडा हुने गरेको र सोही कारणले घटना हुनसकेको आशंका व्यक्त गरेको छ। घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।