तडकभडक रहित दशैं मनाएर आफ्नो धर्म संस्कृति र परम्परालाई जगेर्ना ग​रौ : मुकुन्द​ पौडेल​
News Desk
Sep-29 , 2025 तारिख 09:05 बेलुका

यतिखेर हामी हाम्रो महान चाड दशैंको संघारमा आईपुगेका 
छौं । यसपालीको दशैं के कसरी मनाउने भन्ने दुविधामा छ 
अझै पनि मन। एकातिर अस्ति भर्खर देशमा भएको हिंसात्मक घटनामा कलिला भाइ बैनी लगायत ७० जना भन्दा बढीको ज्यान गएको छ भने सयौंको संख्यामा घाइते भएकाहरु अझै पनि अस्पतालका शैयामा छटपटाइरहेकाे विद्यमान अवस्था छ। यसै बिचमा देशैभरी एकैसाथ सार्वजनिक र व्यक्तिगत भौतिक संरचना ऐतिहासिक सम्पदा ध्वम्स पारिनुका साथै धेरैको बिचल्ली बनाईएको छ। बास्तबमै भन्नुपर्दा देश यतिखेर गहिरो शोक र संकटमा रहेको अवस्था हो। तथापि अर्को तर्फ हेर्दा परम्परागत रुपमा मनाउँदै आईरहेको महान चाड दशैं लगायतका परम्परालाई जगेर्ना गर्नु पर्ने पनि आवश्यकता छ। लाग्छ यतिखेर हामीले हाम्रो धर्म संस्कृति र परम्परालाई जगेर्ना गर्न छाडिदियौँ भने यही विध्वम्स गर्ने र त्यत्रो जनधनको क्षति गर्न उद्यत भीड र यसका सुत्रधारहरु रमाउने छन् र आफ्नो अभिष्ट पुरा भएको सम्झने छन् । यसैले पनि तडकभडक रहित दशैं मनाएर आफ्नो धर्म संस्कृति र परम्परालाई जगेर्ना गर्नु पर्ने देखिन्छ। हर्ष उल्लासका साथ चाड मनाउने मन र वातावरण नभएतापनि सामान्य रुप मैँ भएपनि मनाउनै पर्ने छ । भन्नैपर्ने कुरा छ मुलुकलाई यो अवस्था सम्म ल्याईपु-याउनमा जिम्मेदार अधमहरुले उन्मुक्ति नपाउन । संवैधानिक विधि र प्रक्रियबाट दोषीहरुलाई कानुनको दायरामा ल्याउै पर्छ।  हामी सबैको र मुलुकको भलो होस् भन्ने कामनाका साथ मान्यजन र दुर्गा भवानीसंग यही आशीष मागी दशैं मनाउने तर्फ लागौं। सबैको भलो होस् शुभ होस् मंगल होस् शुभकामना।