मोडेल तथा कलाकार दिपा शाहीबाट बादी समुदायलाई सहयोग
News Desk
Oct-01 तारिख 08:19 बिहान

रुकुम पश्चिम । दशैं जस्तो ठूलो पर्व अवसरमा कलाकार तथा मोडल दिपा शाहीले आफ्नो जन्मथलो रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -९, नमुना बस्तीमा समाजसेवी भूमिका निर्वाह गरेकी छिन् । शाहीले नमुनाबस्तीमा रहेका २२ घर बादी समुदायलाई विभिन्न सहयोग वितरण गरेकी छिन् । बडा दशैंको अवसरमा घर आएको बेला शाहीले प्रत्येक घरलाई चामल, बालबालिकाहरुका लागि कापी - कलम, दशैं खर्च स्वरूप नगद रकम र हरेक घरमा डस्टबिन प्रदान गरेकी छिन् । 

समाजसेवामा पनि सक्रिय शाहीले दशैंजस्तो महान चाडमा पिछडिएको बादी समुदायलाई सहयोग गरेर खुसी बाँड्न पाउँदा आफू सन्तुष्ट भएको बताईन् । संगीत क्षेत्रमा मोडलको रूपमा आफ्नो पहिचान बनाउन सफल शाहीले गाउँ / घरका गरिब - दुखी, असहाय र विपन्न परिवारहरुलाई सहयोग गर्दै उनीहरूको जीवनमा केही राहत र खुशी ल्याउने प्रयास गरेकी हुन् । 

स्थानीय बासिन्दाहरुले शाहीको यस कदमलाई निकै सराहना गरेका छन् । उनीहरूले भने,‘दशैं त सबैको पर्व हो तर विपन्न परिवारका लागि चाहिँ चाडपर्वमा समेत दुःख झेल्नु पर्ने अवस्था हुन्छ । दिपा शाहीले गरेका यस्ता सामाजिक कार्यले उनीहरूको पीडामा मलमपट्टी लगाएको छ ।’ कलाकार मात्र नभई सामाजिक उत्तरदायित्वप्रति संवेदनशील नागरिकको रूपमा प्रस्तुत भएकी शाहीले आगामी दिनमा पनि आफ्नो गाउँ - ठाउँ र समाजका लागि सहयोगी भूमिका निर्वाह गर्दै जाने प्रतिबद्धता जनाएकी छिन् ।