यूएईमा कम्पनी छोडेर भागे फरार मुद्दा लाग्छः दूतावास
News Desk
Oct-02 तारिख 05:28 बिहान

 

संयुक्त अरब इमिरेट्स (यूएई)स्थित नेपाली दूतावासले कम्पनी छोडेर भागेका नेपाली कामदारमाथि श्रम कानुनअनुसार फरार मुद्दा लाग्ने जनाएको छ। दूतावासले बुधबार सार्वजनिक विज्ञप्तिमा फरार मुद्दा नहटाइसम्म उनीहरू नेपाल फर्कन नपाउने स्पष्ट पारेको छ।

दूतावासका अनुसार फरार मुद्दा हटाउन निश्चित समय तोकिएको छैन । मुद्दाको प्रकृतिअनुसार समय फरक पर्न सक्छ — साधारण अवस्थामा एक सातादेखि पन्ध्र दिनसम्म लाग्न सक्छ भने विशेष मुद्दामा एक महिनाभन्दा बढी समय लाग्ने सम्भावना हुन्छ। कम्पनीको भिसा ‘एक्टिभ’ रहेसम्म सम्बन्धित व्यक्ति स्वदेश फर्कन नपाउने दूतावासले जनाएको छ।

दूतावासले भनेको छ, “ट्राभल डकुमेन्ट जारी गरेपछि सम्बन्धित व्यक्तिले अध्यागमन कार्यालय पुगेर ‘आउटपास’ लिनुका साथै नियमअनुसार शुल्क तिरेर मात्र स्वदेश फर्कन सकिन्छ।”

दूतावासले कृष्णबहादुर विकले कम्पनीबाट सम्झौताअनुसार सेवासुविधा नपाएको भन्दै २०८२ असोज २ गते दूतावासमा निवेदन दर्ता गराएको जानकारी गराएको छ। विकको गुनासो सुनेपछि दूतावासका श्रम सहचारी पंकज लाभ कर्णले तुरुन्तै विकको कम्पनीलाई सम्पर्क गरी सम्झौताअनुसार सुविधा उपलब्ध गराउन आग्रह गरेका थिए।

तर दूतावासका अनुसार विकले कम्पनीमा काम गर्न अस्वीकार गर्दै जसरी पनि नेपाल फर्कने इच्छा व्यक्त गरे। श्रम सहचारीले कम्पनीलाई विकको भिसा रद्द गरी राहदानी उपलब्ध गराई फिर्ता पठाउन अनुरोध गरे पनि कम्पनीले भिसा क्यान्सिलेसन प्रक्रियाका लागि बोलाउँदा विक दूतावासमै बसिरहने अडानमा रहे।

विज्ञप्तिमा उल्लेख छ, “कम्पनीको गाडी दूतावासमा आएर उनलाई लिन खोज्दा उनी दूतावास परिसरबाट बाहिर निस्किए। यस कारण उनको समस्या समाधानमा ढिलाइ भएको छ।”

दूतावासले कम्पनी छोडेर भाग्नेहरूले कानुनी प्रक्रिया पुरा नगरेसम्म नेपाल फर्कन समस्या हुने भन्दै श्रमिकलाई सम्झौता र कानुनी नियमपालन गर्न आग्रह गरेको छ।