News Desk
काठमाडौँ प्रहरी परिसरले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई तुरुन्तै पक्राउ गर्न नसक्ने जनाएकोपछि हामी नेपाल संस्थाका सुदन गुरुङ नेतृत्वको समूहले ‘सडकबाटै जवाफ दिने’ चेतावनी दिएको छ।
गुरुङको चेतावनीपछि सुरक्षाका कारण थोरै सङ्ख्यामा खटाइएका बिटका प्रहरीलाई फिर्ता बोलाइएको छ।
जेन–जी आन्दोलनपछि युवा समूहको अगुवाइ गर्दै आएका गुरुङसहित चार जना बुधबार काठमाडौँ प्रहरी परिसर पुगेका थिए। उनीहरूले ओली र लेखकलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाउन माग गर्दै जाहेरी दर्ता गर्न खोजेका थिए।
यसअघि सोमबार दिउँसोदेखि नै गुरुङले सामाजिक सञ्जालमार्फत ओली र लेखकलाई पक्राउ गर्नुपर्ने माग गर्दै अभियान सुरु गरेका थिए। जाहेरी दर्ता गर्न पुगे पनि प्रहरीले तत्काल पक्राउ गर्न नसक्ने बताएपछि गुरुङ र उनका साथीहरूले ‘अब सडकबाटै जवाफ दिने’ चेतावनी दिएर फर्किएका थिए।
यस घटनापछि प्रहरी परिसरले सुरक्षालाई ध्यानमा राख्दै थोरै सङ्ख्यामा रहेका बिटका प्रहरीलाई फिर्ता बोलाएको हो।
‘जेन–जी आन्दोलनपछि केही स्थानमा तत्काल ३–४ जना मात्रै प्रहरी खटाइएको थियो, साधन–स्रोतको अभाव भएकाले ती प्रहरीलाई फिर्ता बोलाइएको हो,’ एक प्रहरी अधिकारीले जानकारी दिए।
प्रहरी स्रोतका अनुसार काठमाडौँमा अहिले सुरक्षाकर्मीलाई उच्च सतर्कतामा राखिएको छ।