News Desk
काठमाडौँ, असोज २२ | काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले सिंहदरबारमा लागेको आगोमा महानगरको दमकल ढिलो पुगेको भन्ने आरोप असत्य भएको दाबी गर्दै विस्तृत विवरण सार्वजनिक गरेका छन्।
शाहले सामाजिक सञ्जालमार्फत विज्ञप्तिजस्तो शैलीमा लेख्दै आन्दोलनको भीड र अवरोधका कारण प्रारम्भिक क्षणमा दमकल सिंहदरबार पुग्न नसके पनि भदौ २४ गते साँझ ८:१५ बजेदेखि नै महानगरको दमकलले सिंहदरबारमा आगो निभाउन थालेको जानकारी दिएका छन्। उनका अनुसार त्यतिबेला आन्दोलनका कारण सुरक्षा संयन्त्र र यातायात ठप्प भएकोले दमकल र उद्धार टोलीलाई अगाडि बढ्न कठिनाइ भएको थियो।
“सिंहदरबार जलाउने नै म हुँ भन्ने हल्ला फैलाइएको छ, तर यो निराधार आरोप हो। काठमाडौँ महानगरले आफ्नो दायित्वबाट कहिल्यै पछि हटेको छैन,” शाहले लेखेका छन्। उनले आन्दोलनका दिनमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लागेको आगो निभाउने, घाइतेको उपचार र सहिदहरुको शव व्यवस्थापनमा महानगरको टिम निरन्तर खटिएको उल्लेख गरे।
शाहका अनुसार काठमाडौँ महानगरका न्युरोड, बालाजु र रामहिटीमा रहेका ५ वटा दमकल र ४४ जना जनशक्ति (नगर प्रहरी र शसस्त्र प्रहरी) ३ शिफ्टमा खटिएका थिए। २३ देखि २८ गतेसम्म मात्रै महानगरको दमकल ५५ भन्दा बढी पटक विभिन्न सरकारी निकाय, अस्पताल, गोदाम, निजी घर र सिंहदरबारमा समेत आगो निभाउन पुगेको उनले जानकारी दिए।
शाहले भने, “हामी कुनै आरोपबाट भाग्दैनौं, जिम्मेवारीबाट त अझै होइन। आन्दोलनका कारण प्रारम्भिक घडीमा दमकल रोकिए पनि भिड शान्त भएपछि तुरुन्तै सिंहदरबारमा पुगेर आगो निभाउने काम भएको हो।”
महानगरले उद्धार कार्यसँगै निशुल्क उपचारका लागि अस्पतालसँग समन्वय, औषधि र रगत व्यवस्थापन, बिरामी तथा कुरुवाका लागि खाना र लजिस्टिक व्यवस्थासमेत गरेको शाहले जानकारी दिए। अभिभावक नभएका घाइतेका लागि नगर प्रहरीले अभिभावकको हैसियतमा अपरेसनका कागजातमा हस्ताक्षरसमेत गरेको उनले बताए।
शाहले नागरिक र मिडियालाई अफवाह र हल्लामा नपरी तथ्य र प्रमाणका आधारमा निष्कर्ष निकाल्न आग्रह गर्दै लेखेका छन्, “हामीलाई जस चाहिएको छैन, तर कम्तीमा दिन–रात खटिएका उद्धारकर्मी र टिमको मनोबल नघटाउने गरी सत्य कुरा बुझेर मूल्यांकन गरौँ।”
उनले अन्त्यमा लेखेका छन्, “देशलाई अहिले एकता र साँचो तथ्यको खाँचो छ, हल्ला र झूटको होइन।”