News Desk
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र हामी नेपाली संस्था अध्यक्ष तथा जेनजी आन्दोलनका अगुवा सुदन गुरुङविरुद्ध एमाले निकट अनेरास्ववियुले काठमाडौँ प्रहरीमा दर्ता गर्न खोजेको जाहेरी दर्ता हुन सकेको छैन।
प्रहरीले जाहेरी बुझेर तत्काल दर्ता नगरी २४ घण्टापछि मात्र प्रतिक्रिया दिने भन्दै अखिलका प्रतिनिधिहरूलाई फर्काएको हो। अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालका अनुसार प्रहरीको यस्तो जवाफपछि उनीहरू २४ घण्टाको प्रतीक्षामा छन्।
भाद्र २३ र २४ गतेका विरोध प्रदर्शनसँग सम्बन्धित घटनामा मेयर शाह र गुरुङमाथि कारबाही गर्न मागसहित जाहेरी दिएको अनेरास्ववियुको भनाइ छ।
महासचिव दीपक धामीले आन्दोलनका क्रममा हिंसा भड्काउने, सार्वजनिक सम्पत्ति तोडफोड गर्ने, आगजनी गर्ने, लुटपाट र सुरक्षाकर्मी तथा नागरिकको हत्या गराउन उक्साउने कार्यमा संलग्न भएको आरोपसहित जाहेरी दर्ता गराउन खोजिएको बताए। साथै, उनले नेपाली नागरिक भएर विदेशीलाई जासुसी गरेको आशंकामा समेत जाहेरी दिएको उल्लेख गरे।
यसअघि आजै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकविरुद्ध जेनजी आन्दोलनका प्रतिनिधिले दिएको जाहेरी भने प्रहरीले दर्ता नगरी अनुसन्धानका लागि जाँचबुझ आयोगमा पठाएको थियो।