News Desk
सरकारले देशका सबै ७५३ वटै स्थानीय तहमा आयुर्वेद सेवा पुर्याएको छ। आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका निमित्त महानिर्देशक डा. श्यामबाबु ठाकुरका अनुसार हालसम्म जहाँ आयुर्वेद स्वास्थ्य केन्द्र वा औषधालय थिएन, त्यहाँ ‘नागरिक आरोग्य सेवा केन्द्र’को रुपमा नयाँ आयुर्वेद औषधालय स्थापना गरिएको छ।
डा. ठाकुरले जनाएका अनुसार प्रत्येक केन्द्रमा कम्तीमा एक जना कविराज तहका आयुर्वेद जनशक्ति नियुक्त गरिनेछ। यी केन्द्रहरूले स्थानीय बासिन्दालाई निःशुल्क आयुर्वेद औषधि र उपचार सेवा उपलब्ध गराउनेछन्। साथै, आरोग्य केन्द्रहरूमा योग अभ्याससम्बन्धी सेवा पनि प्रदान गरिनेछ।
‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने नारासहित सञ्चालनमा ल्याइएका यी सेवा केन्द्रहरू प्राथमिक तहमै रोग निवारण र स्वास्थ्य सुदृढीकरणमा सहायक हुने विश्वास विभागले व्यक्त गरेको छ।
निमित्त महानिर्देशक ठाकुरका अनुसार यसअघि बिरामीलाई २३ प्रकारका आयुर्वेद औषधि मात्र वितरण गरिँदै आएकोमा अबदेखि ३५ प्रकारका आवश्यक औषधि निःशुल्क उपलब्ध गराइनेछ।
यी केन्द्रहरूबाट कब्जियत, मधुमेह, उच्च रक्तचाप लगायतका दीर्घरोगका लागि आयुर्वेद औषधि निःशुल्क उपलब्ध हुने र उपचार सेवाले ग्रामीण तहसम्म स्वास्थ्य पहुँच बढाउने अपेक्षा गरिएको छ।