राष्ट्रिय समाचार समिति (रासस)
काठमाडौँ, २३ असोजः पेशागत बुद्धिजीवी समूहबीच मुलुकको समसामयिक राजनीतिक विषयमा बृहत् छलफल भएको छ ।
प्रजातान्त्रिक विचार समाजका निवर्तमान अध्यक्ष एवं नेपाल चिकित्सक सङ्घका पूर्वअध्यक्ष डा केदारनरसिंह केसीले संयोजन गर्नुभएको आजको उक्त छलफलबाट सात बुँदे निष्कर्ष निकालिएको छ । छलफलबाट घोषित समयमै आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुनुपर्ने, निर्वाचनको वातावरण बनाउन सरकार प्रतिबद्ध र क्रियाशील रहनुपर्ने, राजनीतिक दलहरु, नागरिक समाज र जनता सबैले निर्वाचनको सोच बनाएर आआफ्नो कार्यक्रम तय गर्नुपर्नेलगायत निष्कर्ष निकालिएको छ ।
यस्तै बैठकले हालै जेनजीले आव्हान गरेको शान्तिपूर्ण प्रदर्शन विविध कारण हिंसात्मक हुन गएको घटनाप्रति गम्भीर चिन्ता र चासो राख्दै जेनजीको आवाज प्रायःलोकतन्त्र र स्वतन्त्रताको पक्षमा मुखरित भएको निष्कर्ष निकालेको छ । घटित दुःखद् घटनाप्रति जेनजी संवेदनशील रहेको विश्वास बैठकले व्यक्त गरेको छ । स्थितिको समीक्षा गर्न जेनजीलाई आग्रहसमेत गरेको छ ।
साथै घोषित निर्वाचनको विकल्प छैन, तर निर्वाचन हुन सकेन भने देशको भावी राजनीतिक स्थिति र अवस्थाबारे अहिले नै अनुमान लगाउन सहज छैन भन्ने अनुरोध सम्बद्ध सबैसँग राख्ने निष्कर्षसमेत सो बैठकले निकालेको छ । विधिको शासन, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक माध्यमबाट नै अहिलेको समस्याको समाधान गरेर नेपालले आफ्नो सक्षमता प्रदर्शित गर्नुपर्ने मान्यता बैठकको छ । यतिबेला नागरिक समाज, जेनजी समूह, सञ्चार माध्यम र सरोकारवाला सबैले वातावरणलाई संयम, सहिष्णुता, सद्भावपूर्ण र चुनावमुखी बनाउन योगदान गर्नुपर्ने बैठकको ठहर छ ।
निश्चय पनि राजनीतिक दलहरुलाई सहभागी बनाएर नै सार्थक चुनाव हुने विश्वास व्यक्त गर्दै जेनजीका जायज मागलाई सम्बोधन हुने गरी संविधान संशोधनको प्रतिबद्धता र खाका दलहरुले प्रस्तुत गर्नु समयको माग हो भन्ने बैठकको निष्कर्ष छ । यस्तै राजनीतिक दलहरुले सैद्धान्तिक र नैतिक प्रवृत्ति एवं प्रक्रियालाई स्थापित गर्नुपर्ने र आन्तरिक रुपान्तरणका लागि महाधिवेशन वा आआफ्नो आन्तरिक प्रक्रिया अविलम्ब सुरु गर्नुपर्ने आग्रहसमेत सो बैठकको छ ।
कार्यक्रममा प्रजातान्त्रिक विचार समाजका अध्यक्ष कुलचन्द्र वाग्लेलगायत प्रतिनिधिहरु, नेपाल बार एशोसिएशनका पूर्वअध्यक्षद्वय प्रेमबहादुर खड्का र गोपालकृष्ण घिमिरे, राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल, प्रा डा हरिदर्शन श्रेष्ठ, नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिल कार्की, पूर्वअध्यक्ष डा लोचन कार्की, इञ्जिनियर एशोसियशनका अध्यक्ष लक्ष्मण केसी, पूर्वअध्यक्ष ई किशोर शाक्य, प्राध्यापक सङ्घका पूर्वअध्यक्ष रामेश्वर उपाध्याय, डा गङ्गाधर अधिकारी, ई सुरेश भण्डारी, पत्रकारहरु कृष्ण केसी, कबीर राणा, गोकर्ण अर्याल, राजन कुँइकेललगायतको उक्त छलफलमा सहभागिता रहेको प्रजातान्त्रिक विचार समाजका अध्यक्ष वाग्लेले जानकारी दिनुभयो ।