यस वर्षको मनसुन नेपालबाट औपचारिक रूपमा समाप्त भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार निर्धारित मितिभन्दा आठ दिन ढिलो गर्दै आजदेखि मनसुन सम्पूर्ण देशबाट बाहिरिएको हो। यसअघि असोज २० गतेदेखि मनसुन क्रमशः सुदूरपश्चिम, कर्णाली, लुम्बिनीका पश्चिमी क्षेत्र र गण्डकी प्रदेशका केही भागबाट बाहिरिन सुरु भएको थियो।
विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली देखिए पनि बाँकी अधिकांश भूभागमा मौसम सामान्य र सफा छ।
मनसुनको उत्तरार्द्धमा यस वर्ष देशका ५० भन्दा बढी जिल्लामा भारी वर्षाका कारण जनजीवन गम्भीर रूपमा प्रभावित बनेको थियो। मनसुनजन्य विपद्मा परी ५३ जनाले ज्यान गुमाएका र पाँच जना अझै बेपत्ता रहेको विभागले जनाएको छ।
कायस्थका अनुसार यो वर्षको मनसुन सामान्य मितिभन्दा १५ दिनअघि, अर्थात् जेठ १५ गते नेपालमा प्रवेश गरेको थियो। त्यसपछि देशभर मनसुन फैलिन २३ दिन लागेको थियो।