News Desk
काठमाडौं – पछिल्ला दिनमा सामाजिक सञ्जालमा विवादित बनेको TOB (The Original Brothers) समूहले आफूहरूबारे फैलिएका भ्रम र आरोप अस्वीकार गरेको छ। समूहका प्रतिनिधि तथा र्यापर हाकिम गुरुङले एक वक्तव्य जारी गर्दै TOB कुनै राजनीतिक संगठन नभई देशप्रेमी र सामाजिक उत्तरदायी बाइकर समूह भएको स्पष्ट पारेका छन्।
उनका अनुसार TOB नेपालको विभिन्न जातजाति र समुदायका युवाहरूले गठन गरेको भाइचाराको समूह हो, जसको उद्देश्य देशमा सकारात्मक सोच, पारदर्शिता र भ्रष्टाचारविरुद्ध सचेतना फैलाउनु हो। “हामी देशका युवा हौं, परिवर्तनका पक्षमा छौं तर हिंसा वा तोडफोडमा हाम्रो कुनै संलग्नता छैन,” गुरुङले बताएका छन्।
समूहले भाद्र २३ मा भएको आन्दोलनमा शान्तिपूर्ण रूपमा सहभागी भएको तर त्यसपछिका आगजनी र तोडफोड घटनामा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेको छ। “हाम्रो कुनै सदस्य ती घटनास्थलमा थिएनन्, हामी शान्तिपूर्ण विरोधका पक्षमा हौं,” वक्तव्यमा उल्लेख छ।
TOB ले आफ्ना एक सदस्यलाई तिब्बती मूलका भएकै कारण लक्षित गरिएको भन्दै जातीय भेदभावप्रति आपत्ति जनाएको छ। “उनी पूर्ण नेपाली नागरिक हुन्, जातीय टिप्पणी अस्वीकार्य छ,” वक्तव्यमा भनिएको छ।
समूहले आफूहरूलाई “भाइचाराको प्रतीक” भनेर व्याख्या गर्दै देशका विभिन्न भागमा सामाजिक काम र दान अभियान सञ्चालन गर्दै आएको जानकारी दिएको छ। प्रारम्भमा समूहको नाम “Tibetan Original Blood” रहे पनि ‘Tibetan’ शब्द पूर्वजप्रतिको सम्मान स्वरूप प्रयोग गरिएको स्पष्ट गरिएको छ।
मिडिया र सर्वसाधारणलाई बिना प्रमाण आरोप नगर्न आग्रह गर्दै TOB ले भनेको छ, “यदि कसैले हाम्रो विरुद्ध ठोस प्रमाण ल्यायो भने, हामी कानुनअनुसार जवाफ दिन तयार छौं।”
TOB समूहका अधिकांश सदस्य Gen Z पुस्ताका युवा हुन्, जसले जिम्मेवारी, पारदर्शिता र देशभक्तिको सन्देश फैलाउँदै आएका छन्। समूहले निष्कर्षमा भनेको छ, “हामी देशको भलो चाहन्छौं, राजनीति होइन।”