इजरेलमा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी जीवित रहेको प्रमाण फेला नपरेको इजरेली सेनाको औपचारिक जानकारी
News Desk
Oct-13 , 2025 तारिख 06:57 बेलुका

तेल अवीव – दुई वर्षअघि हमासद्वारा इजरेलबाट बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशी जीवित रहेको कुनै प्रमाण नपाएको इजरेली सेनाले औपचारिक रूपमा जनाएको छ।

इजरेलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै यो जानकारी पुष्टि गरेका हुन्।

उनका अनुसार इजरेल डिफेन्स फोर्स (IDF) ले विपिन जोशी जीवित वा मृत दुवै सूचीमा नपरेको जनाउँदै, “यदि कुनै चमत्कारिक परिवर्तन भए मात्र केही भन्न सकिन्छ, अन्यथा उनी जीवित नभएको औपचारिक सूचना आएको छ,” भनेका छन्।

हमासका अनुसार हालसम्म बन्धक बनाइएका ४८ मध्ये केवल २० जना मात्रै जीवित छन्। इजरेल र हमासबीचको पछिल्लो सङ्घर्षविराम पछि सोमवारदेखि बन्धकहरूलाई चरणबद्ध रूपमा मुक्त गर्ने प्रक्रिया सुरु भएको छ। पहिलो चरणमा हमासले सात जना इजरेली नागरिक इजरेललाई फिर्ता गरेको पुष्टि इजरेली सेनाले गरेको छ।

विपिन जोशीसम्बन्धी जानकारी स्पष्ट नभएपछि इजरेली अधिकारीहरूले नेपालका राजदूत पण्डित, विपिनका ठूलोबुवाका छोरा किशोर जोशी, र अमेरिकामा रहेकी उनकी बहिनी पुष्पा जोशीलाई ग्रुप कलमार्फत जानकारी दिएका थिए।
उक्त कल सोमवार बिहान स्थानीय समयानुसार साढे ७ बजे गरिएको थियो।

राजदूत पण्डितका अनुसार, “हमासले पठाएको बन्धकको सूची आईडीएफले समीक्षा गर्दा विपिनको नाम त्यहाँ छैन भन्ने पुष्टि भएको हो।”
यससँगै, दुई वर्षदेखि हराइरहेका नेपाली विद्यार्थी विपिन जोशीबारे अझै पनि कुनै ठोस तथ्य वा आशा बाँकी नरहेको इजरेली पक्षले स्पष्ट गरेको छ।