News Desk
हिमाल आरोहणमा महिलाको सहभागिता बढाउने उद्देश्यसहित दोलखाको रोल्वालिङ हिमश्रृंखलाअन्तर्गत रहेको ‘यलुङ रि’ हिमाल (५,६३० मिटर) मा एकै पटक आठ महिलाले सफल आरोहण गरेका छन्। यो टोलीमा छ देशका महिला आरोहीहरू सहभागी रहेका छन्।
अभियानका पथप्रदर्शक अन्तर्राष्ट्रिय पर्वतारोही पासाङ किदर शेर्पाका अनुसार बुधबार बिहान ८ बजेर २ मिनेटमा सबै महिला आरोहीहरूले एकसाथ यलुङ रिको शिखर स्पर्श गरेका थिए। “महिलाको सामूहिक आरोहण निकै प्रेरणादायी क्षण बन्यो,” उनले भने।
‘महिला पर्वतारोहणको सहकार्य’ नामक यस अभियानको आरम्भिक योजना भने ५,९३० मिटर अग्लो रामदुङ हिमाल आरोहण गर्ने थियो। तर, मौसममा आएको आकस्मिक परिवर्तन र भारी हिमपातका कारण टोलीले योजना परिवर्तन गरी यलुङ रि हिमाल आरोहण गर्ने निर्णय गरेको थियो।
अभियानमा नेपाल, अमेरिका, अफगानिस्तान, भारत, पाकिस्तान र ताजिकिस्तानका नौ महिला सहभागी थिए। तीमध्ये अफगानिस्तानकी नेकी हैदरी स्वास्थ्य समस्याका कारण ४,००० मिटरमा पुगेर फर्किनु परेको थियो। बाँकी आठजना आरोहीहरूलाई पथप्रदर्शक पासाङ किदर शेर्पा र मिङमा छिरि शेर्पाले सहयोग गरेका थिए।
आरोहणमा सहभागीले भनेकी छन् “बुधबार बिहान १ बजे हामीले आरोहण सुरु गरेका थियौं, र करिब ७ घण्टामा चुचुरासम्म पुग्न सफल भयौं। सामूहिक रूपमा एउटै समयमा शिखरमा उभिनु अत्यन्त रोमाञ्चक अनुभव थियो।”
अन्तर्राष्ट्रिय स्तरमा महिलाको पर्वतारोहण सहभागिता विस्तार गर्ने र उनीहरूलाई हिमाल आरोहणमा सशक्त बनाउने उद्देश्यले सुरु गरिएको यो अभियान भविष्यमा पनि निरन्तरता दिइने पथप्रदर्शक शेर्पाले जानकारी दिएका छन्।