नीति र नेतृत्व तत्काल परिवर्तन आवश्यक छ:-सुशील भट्ट
News Desk
Oct-14 , 2025 तारिख 07:55 बेलुका

 नेपाली कांग्रेस का युवा नेता सुशील भट्टले पार्टीभित्र वर्तमान राजनीतिक र संस्थागत परिप्रेक्ष्यका आधारमा परिवर्तन र जवाफदेहीपन आवश्यक भएको औंल्याए ।भट्टले अहिलेको विषम परिस्थितिमा पार्टीमा जनताले उठाएका एजेन्डाहरूलाई र संविधानका संवेदनशील विषयहरूलाई अगाडि बढाउनु आवश्यक रहेको बताए ।उनले भने, ‘कांग्रेस स्थापनाकालदेखि अहिलेसम्म जनताको भाषा बोल्ने र जनताले खोजेको परिवर्तन नेतृत्व गर्ने दल हो । हालको विषम परिस्थितिमा केन्द्रीय समिति बसिरहेको छ र त्यसले जनताले उठाएका एजेन्डाहरूलाई र संविधानका संवेदनशील विषयहरूलाई अगाडि बढाउनु आवश्यक छ ।’

भट्टले संघीयता, प्रत्यक्ष/अप्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, पार्टीको आन्तरिक नीति, र नागरिकले उठाएको भ्रष्टाचार विरोधी आवाजलाई कांग्रेसले संस्थागत रूपमा टेकओभर गरी कार्यान्वयन गर्नुपर्ने औँल्याए । उनले नेतृत्व साथै नीतिमा पनि तत्काल परिवर्तन आवश्यक रहेको औंल्याए ।उनी साधारणतः महाधिवेशन–केन्द्रित विकल्पमा विश्वास राख्छन् तर त्यसैबेलामा नेतृत्व र संगठन परिवर्तनका लागि केन्द्रीय समिति भंग गरी नयाँ ऊर्जा भित्र्याउनुपर्ने प्रस्ताव उनले अगाडि सारेका छन् ।विशेष महाधिवेशन भन्दा केन्द्रीय समिति भंग गरेर नयाँ पुस्तालाई केन्द्रीय समिति र नेतृत्वमा ल्याउनु बढी प्रभावकारी हुने उनको भनाइ छ ।भट्टले जेनजी आन्दोलनका क्रममा निधन भएका, घाइते र घटनासँग सम्बन्धित पक्षहरूको स्वतन्त्र र गहिरो छानबिन हुनुपर्नेमा जोड दिएका छन् । साथै, सभापति शेरबहादुर देउवामाथि भएको आक्रमण र पार्टी कार्यालयमा गरिएको तोडफोडबारे दुवै पक्षको छानबिन आवश्यक भएको उनले बताए ।

‘सभापति पद व्यक्ति मात्र होइन, संस्था पनि हो । यदि सभापतिको स्वास्थ्यले साथ दिएन भने कार्यवाहक व्यवस्थाबाट पार्टीलाई महाधिवेशन केन्द्रित मार्गमा अघि बढाउनुपर्छ । सभापतिज्यूको स्वास्थ्यले कांग्रेस बिरामी हुनु हुँदैन । कांग्रेसले आफ्नो दैनिकीमा अगाडि बढ्नुपर्छ । किनकि कांग्रेस बिरामी भयो भने राष्ट्र बिरामी हुन्छ ।’संगठन सुधारको प्रसंगमा भट्टले कांग्रेसले गतिशील निर्णय लिनुपर्ने बताए । भातृ र उप–संगठनहरूलाई पुनरवलोकन/विघटन गरी नयाँ पुस्तालाई आकर्षित गर्नेगरी संगठन नविकरण गर्न आवश्यक रहेको बताए ।भट्टले जेनजी पुस्ताद्वारा उठाइएका मुद्दाहरूलाई केवल युवा आन्दोलनको माग नठान्दै समग्र राष्ट्रको आवाजका रूपमा कांग्रेसले आत्मसात् गरी प्रमुख एजेन्डाको रुपमा कार्यान्वयन गर्ने दायित्व रहेको बताए ।

त्यस्तै, आन्दोलनका क्रममा देखिएका आक्रोश र अतिवादी प्रवृत्तिहरूले लोकतान्त्रिक गणतन्त्र तथा शान्ति प्रक्रियामा नकरात्मक असर पार्न सक्ने चेतावनी पनि दिए ।उनले सबै विभाजित धाराहरू समेटेर लोकतान्त्रिक मार्गदर्शन र भ्रष्टाचारविरोधी एजेन्डा कार्यान्वयन गरी कांग्रेसले देशलाई निकासमा लैजानुपर्ने अपेक्षा व्यक्त गरे ।