News Desk
काठमाडौँ | जिल्ला प्रशासन कार्यालय, काठमाडौँले आज (बुधबार)देखि राहदानी आवेदनसम्बन्धी सेवा पुनः सञ्चालनमा ल्याएको छ। केही समयदेखि स्थगित रहँदै आएको सेवा अब बिहानदेखि साँझसम्म निरन्तर दुई सिफ्टमा सञ्चालन हुने कार्यालयले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी मुक्तिराम रिजालका अनुसार राहदानी सेवा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ। सेवाको सहजता र व्यवस्थापनका लागि आवेदन प्रक्रिया अनलाइनमार्फत मात्र हुने र स्लट हरेक दिन साँझ ५ बजे खुल्नेछ।
हाल सीमित आवेदन स्टेसनमार्फत सेवा प्रारम्भ गरिएको छ। अत्यधिक भीड र सीमित स्रोतका कारण सेवाग्राहीले आफूले आवेदन फारममा तोकेको समयमा उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ।
गत भदौ २३ र २४ गते ‘जेन–जी’ आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालयमा आगजनी र तोडफोड भएपछि राहदानी सेवा अवरुद्ध भएको थियो। संरचना मर्मतपछि कार्यालयले पुनः सेवा सुरु गरेको हो।