अविरल वर्षाबाट अति प्रभावित भएका परिवारहरूलाईनेपाल रेडक्रस सोसाइटीबाट​ राहत सामग्री वितरण
News Desk
Oct-15 , 2025 तारिख 12:37 बेलुका

नेपाल रेडक्रस सोसाइटीले यही असोज १७ देखि १९ गतेसम्म परेको अविरल वर्षाबाट अति प्रभावित भएका परिवारहरूलाई राहत सामग्री वितरण गरेको छ ।

पाँचथर, इलाम, झापा, मोरङ, सर्लाही, महोत्तरी, रौतहट, बारा र सुनसरी जिल्लाहरूका बाढी र पहिरो प्रभावित परिवारलाई राहत सामग्री (खाद्य र गैह्र खाद्य) वितरण गरिएको हो । वितरित सामग्रीहरूमा २१२ थान त्रिपाल, कम्वल ४७२२ थान, हाइजिन किट पाँच सय ८१ थन (५०० थान रोटरी क्लब बिर्तामोडसँगको समन्वयमा), म्याट्रेस ४६४६ पिस, बाल्टिन ८१, झुल १३ लगायत सामग्रीहरू रहेका छन् । अन्य निकायसँगको समन्वयमा झापामा २५६७ परिवारलाई राहत सहयोग गरिएको छ ।

रेडक्रस केन्द्र तथा प्रादेशिक गोदामबाट ९०० परिवारको सामग्री वितरणको लागि पठाईएको छ ।

प्रभावित क्षेत्रमा २०० जना स्वयंसेवक परिचालित थिए । स्वंयम सेवकहरूले सुरक्षा निकायसँगको समन्वयमा खोज तथा उद्धार, प्रारम्भिक क्षतिको तथ्याङ्क सङ्कलन, अस्थायी आवास तथा खाना व्यवस्थापन र राहत वितरणलगायतका कार्यमा सहयोग पु¥याएका थिए ।