म्याग्दीको तातोपानी कुण्डमा नुहाउने बिरामीहरुको सङ्ख्या वृद्धि
News Desk
Oct-15 तारिख 12:05 बेलुका

प्राकृतिक चिकित्सालयको उपचारस्थलका रुपमा विकसित हुँदै गैरहेको म्याग्दीको तातोपानी कुण्डमा नुहाउने बिरामीहरुको सङ्ख्या बढेको छ । बेनी नगरपालिका–४, सिङ्गास्थित रहेको तातोपानीको कुण्डमा नुहाउने बिरामीहरु बढेपछि महिला र पुरुषका लागि नुहाउन छुट्टाछुट्टै समयतालिका बनाइएको हो । नेपालीहरुको मुख्य चाड बडादसैँ सकिएलगत्तै तातोपानी कुण्डमा नुहाउने बिरामीको सङ्ख्यामा वृद्धि भएपछि महिला र पुरुषको छुट्टाछुट्टै समय तालिका बनाएर लागू गरिएको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

अहिले दैनिकजसो तातोपानी कुण्डमा महिला र पुरुष गरी करिब १ हजार जनाले स्नान गर्ने गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले जानकारी दिनुभयो । तातोपानी कुण्डमा म्याग्दीसहित बागलुङ, पर्वत, कास्की, चितवन, रुपन्देही, काठमाडौंलगायत देशका अधिकांश जिल्लाहरुबाट बिरामी, सर्वसाधारण र पर्यटकहरु स्नान गर्न जाने गरेका छन् । तातोपानीमा नुहाउने बिरामीको भीड बढेपछि महिला र पुरुषलाई आ–आफ्नो पालोमा दुई घण्टाका दरले नुहाउन समयको व्यवस्थापन मिलाइएको छ । तातोपानीको मुख्य पोखरीमा हरेक दिन बिहान साढे ५ बजेदेखि साँझ साढे ५ बजेसम्म नुहाउने समय तालिका बनाइएको समितिका अध्यक्ष खड्काले बताउनुभयो ।

तातोपानी कुण्डमा नुहाउन समितिमार्फत एक हप्ताका लागि तीनसय ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । जमिन मुनिबाट ४८ देखि ५५ डिग्री सेल्सियसमा बिरेनुनको स्वादसहित निस्कने तातोपानी कुण्डमा स्नान गरेपछि ग्यास्टिक, बाथरोग, गानोगोला, युरिकएसिड, घाउखटिरा, छालाको एलर्जी, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाई, मर्किएको, बज्रिएकोसहित चिसोबाट उत्पन्न सबै प्रकारका रोगहरु निको हुने जनविश्वास रहेको छ । अहिले मुख्य पोखरीमा दैनिक १२ घण्टाको दरले स्नान गर्ने समय तालिका बनाएर लागू गरिएको छ । बिरामीको पनि चाप बढेको र कुण्डमा डुब्ने समय पनि २ घण्टाका दरले बढाइएको छ ।

कुण्डभन्दा बाहिरको एउटा पोखरी भने बिहान ६ बजेदेखि राति ९ बजेसम्म सञ्चालन गर्ने गरिएको छ । यसमा तत्कालै कुण्डमा आएका बिरामी, सर्वसाधारण, पर्यटकहरु र भ्रमणमा आएकाहरुले नुवाइधुँवाई गर्ने गर्दछन् । कुण्डभन्दा बाहिर रहेका तातोपानीका धाराहरु २४सै घण्टा खुला राख्ने गरिएको छ । मुख्य कुण्डभन्दा बाहिरको पोखरीमा पनि नुहाउनका लागि छुट्टै टिकटको व्यवस्था गरिएको छ । यसमा बिहान ६ बजेदेखि ४ बजेसम्म प्रतिव्यक्ति एकसय र ४ देखि राति ९ बजेसम्म प्रतिव्यक्ति दुईसय रुपैयाँको टिकट लिनुपर्दछ ।

टिकट लिएपछि दुई घण्टासम्म मज्जाले नुहाउन पाइन्छ । तातोपानी कुण्डमा एकपटक आएर डुबेका बिरामीहरु फर्किएर पटकपटक आउने गरेका छन् । स्वदेश तथा विदेशका ठूला र महङ्गा अस्पतालहरुमा लाखौं रुपैयाँ खर्च गर्दा पनि रोग निको नभएका बिरामीहरु समेत तातोपानी कुण्डमा आएर डुबेपछि निको भएर फर्कने गरेको समितिको भनाइ छ । नेपालीका साथै विदेशी पर्यटक तथा बिरामीहरु पनि तातोपानी कुण्डमा स्नान गर्न आउने गरेका छन् । तिलोत्तमा नगरपालिका–२, रुपन्देहीका ५० वर्षीय चन्द्रबहादुर बुढामगरले आफूलाई घुँडा दुख्ने र नशासम्बन्धी समस्या देखिएकाले तातोपानीमा स्नान गर्ने र नुहाउने गरेपछि ठिक हुँदै गएको अनुभव सुनाउनुभयो ।

तातोपानी कुण्डबाट टिकटवापत प्राप्त हुने आम्दानीको केही प्रतिशत रकम स्थानीय सरस्वती माध्यमिक विद्यालयमा अध्यापनरत निजी शिक्षकहरुको तलव भत्तामा सहयोग गर्ने गरिएको छ । यसैगरी बेनी नगरपालिकालाई वार्षिक रुपमा २५ प्रतिशतका दरले कुण्डले राजश्व तिर्ने गरेको छ भने १३ प्रतिशत राजश्व नेपाल सरकारलाई आन्तरिक राजश्व कार्यालयमार्फत भुक्तानी हुन्छ । कुण्ड परिसरमा आवश्यक भौतिक संरचनाहरु पनि कुण्डकै लगानीबाट विस्तार गरिएका छन् ।

धेरै पढिएको