“निर्वाचन समयमै सम्पन्न गर्न सबै पक्ष संवादमा आउनुहोस्” : गृहमन्त्री
News Desk
Oct-17 तारिख 05:28 बिहान

भक्तपुर | गृहमन्त्री ओमप्रकाश अर्यालले आउँदो फागुन २१ गते तोकिएको निर्वाचन समयमै सम्पन्न गर्नका लागि सबै सरोकारवाला पक्षलाई संवादमा आउन आग्रह गर्नुभएको छ। बिहीबार जिल्ला प्रशासन कार्यालय भक्तपुरको निरीक्षणका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री अर्यालले निर्वाचनलाई सफल र शान्तिपूर्ण बनाउन राजनीतिक दलहरूले आपसी सहमति र सहयोगको वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो।

उहाँले भने, “सरकार संवाद र सहकार्यका लागि सधैं तयार छ। समयमै निर्वाचन सम्पन्न होस भनेर आवश्यक सबै सहजीकरण गर्न हामी प्रतिबद्ध छौं।” गृहमन्त्री अर्यालले तोकिएको समयमा निर्वाचन रोक्न केही असन्तुष्ट समूह सक्रिय रहेको सूचना प्राप्त भएको बताउँदै, त्यस्ता तत्वहरूलाई संवाद र बुझाइमार्फत सहमतिमा ल्याउने प्रयास भइरहेको जानकारी दिनुभयो।

सुरक्षासम्बन्धी प्रश्नमा उहाँले राजनीतिक नेताहरूले कहिलेकाहीं सुरक्षाकर्मीको मनोबल गिराउने खालका टिप्पणी गर्ने गरेको उल्लेख गर्दै, वर्तमान सरकारले सुरक्षाकर्मीहरूको आत्मबल र कार्यउत्साह बढाउन ठोस पहल गरिरहेको बताउनुभयो।

मन्त्री अर्यालका अनुसार, सरकारको प्रमुख प्राथमिकता निर्वाचनको वातावरण सुरक्षित र विश्वसनीय बनाउने रहेको छ। उहाँले सबै पक्षको सक्रिय सहयोगले मात्र लोकतान्त्रिक प्रक्रियाको सफलता सुनिश्चित हुने विश्वास व्यक्त गर्नुभयो।

धेरै पढिएको