जनकपुर | मधेस प्रदेशमा नयाँ सत्ता समीकरण बनेसँगै नेपाली कांग्रेस र जनमत पार्टीबीच तीव्र राजनीतिक तनाव उत्पन्न भएको छ। सरकार गठनको अन्तिम चरणमा पुग्दै गर्दा कांग्रेसले जनमतमाथि पैसाको प्रलोभनमा परेर सहमति तोडेको आरोप लगाएको छ भने जनमतले सो आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेको छ।
कांग्रेस मधेस प्रदेशका प्रचार प्रमुख नितेश गुप्ताले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै, जनमत पार्टीले प्रारम्भिक सहमति विपरीत लोसपा (लोकतान्त्रिक समाजवादी पार्टी) सँग हात मिलाएको भन्दै असन्तोष व्यक्त गरेका छन। उनले भनेका छन्, “जनमत पार्टीले मधेसको हितका लागि होइन, पैसा र पदको लोभमा परेर व्यक्तिगत स्वार्थका आधारमा निर्णय गरेको छ। कांग्रेससँगको सहमति तोड्नु राजनीतिक गद्दारी हो।”
गुप्ताले जनमतको यो कदमले मधेसको स्थायित्व र जनताको विश्वासमा आघात पुगेको दाबी गर्दै प्रदेशको राजनीतिक भविष्य फेरि अस्थिर दिशातर्फ धकेलिएको बताएका छन। “मधेसका जनताले विकास र स्थायित्व खोजिरहेका बेला नेताहरूको अवसरवादी सोचले प्रदेशको भविष्य अनिश्चित बन्दैछ,” उनले टिप्पणी गरे।
उता, जनमत पार्टीका नेताहरूले कांग्रेस प्रचार प्रमुखको अभिव्यक्तिलाई “निराधार र भडकाउने” प्रतिक्रिया दिएका छन। जनमतका एक नेताले भने, “हामीले कुनै आर्थिक प्रलोभनका कारण निर्णय गरेका होइनौं। हाम्रो उद्देश्य मधेस र जनताको हितमा स्थायी र कार्यक्षम सरकार गठन गर्नु हो।”
प्रदेशमा हाल दलहरूबीच सरकार गठनका लागि अन्तिम घडीको रस्साकस्सी चलिरहेको छ। प्रदेश प्रमुखले बहुमतको दाबी पेश गर्न दिएको समयसीमा सकिन लाग्दा सत्ता समीकरणमा आएको यो नाटकीय परिवर्तनले मधेसको राजनीतिक तापक्रम झन चर्काएको देखिएको छ।