काठमाडौं, आश्विन ३१ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सुशीला कार्की नेतृत्वको सरकारले पक्राउ गरी थुन्न प्रयास गरिएको आरोप लगाएका छन्। ललितपुरमा बुधबारदेखि जारी रहेको एमाले केन्द्रीय कमिटीको दशौँ बैठकको समापन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।
ओलीले आफ्नो काँधमा रहेको जिम्मेवारी अझै कायम रहेको बताउँदै, त्यो पूरा नगरी राजीनामा नदिने स्पष्ट संकेत दिए। “मेरो काँधमा जिम्मेवारी कायमै छ, त्यो पूरा नगरी म बाहिरिँदिनँ,” उनले भने, “११औं महाधिवेशनमा बाँकी विषयहरू छिनोफानो हुनेछ।”
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबारे बोल्दै ओलीले उनलाई “अवैधानिक बाटोबाट प्रधानमन्त्री बनेकी” व्यक्ति भएको दाबी गरे। कार्कीले प्रधानमन्त्री पद अस्वीकार गर्नुपर्नेमा आफू सुरुदेखि नै रहेको पनि उनले स्पष्ट पारे।
भाषाको नरमपना अपनाउन सुझाव दिने नेताहरूलाई आलोचना गर्दै ओलीले भने, “साथीहरूले नरम भाषा बोल्नुस् भन्नुभएको छ, मानौँ चिनी थप्नुपर्यो जस्तो। तर हामीले गरेका कामहरू जनताले देखेका छन्, त्यसैले आक्रमण पनि भइरहेको छ।”
जेन–जी आन्दोलनको प्रसंग जोड्दै उनले भने, “जेन–जीले मलाई थुन्ने माग गरेका थिएनन्, तर सरकारले त्यसैको बहानामा मलाई थुन्न खोज्यो।”
बैठकमा ओलीले पार्टीभित्रको एकता, आगामी महाधिवेशनका तयारी, र सरकारको कार्यशैलीप्रति पार्टीको दृष्टिकोणबारे समेत धारणा राखेका थिए।