News Desk
अछाम | अछामको चौरपाटी गाउँपालिका–७ स्थित मार्कु गाउँलाई छाउपडी प्रथामुक्त क्षेत्र घोषणा गराउने नेपाल प्रहरीको अभियान अन्तर्राष्ट्रिय स्तरमा सम्मानित भएको छ। नेपाल प्रहरीले सञ्चालन गरेको ‘समुदाय–प्रहरी साझेदारी परियोजना’लाई अमेरिकामा प्रदान गरिने प्रतिष्ठित ‘हर्मन गोल्डस्टेइन अवार्ड’ प्राप्त भएको हो।
अमेरिकाको विस्कन्सिन राज्यको म्याडिसन सहरमा अक्टोबर १३ देखि १५ तारिखसम्म आयोजित कार्यक्रममा नेपाल प्रहरीलाई यो सम्मान प्रदान गरिएको हो। उक्त कार्यक्रम एरिजोना स्टेट विश्वविद्यालयको आयोजनामा सम्पन्न भएको थियो।
नेपाल प्रहरीका तर्फबाट परियोजना प्रस्तुत गर्न प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवर, प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारी र प्रहरी निरीक्षक प्रतिमा कार्की सहभागी भएका थिए।
‘सामाजिक रूपान्तरणका लागि समुदाय–प्रहरी सहकार्यः अछामको मार्कु गाउँमा छाउपडी प्रथा अन्त्य अभियान’ शीर्षकमा गरिएको प्रस्तुतिकरण विश्वका विभिन्न देशका उत्कृष्ट समस्या–मुखी प्रहरी परियोजनाबीच उत्कृष्ट ठहरिएको थियो।
पूर्व अछाम प्रहरी प्रमुख तथा परियोजना अभियन्ता डिएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार, समुदायको सक्रिय सहभागिता र प्रहरीको निरन्तर प्रयासले छाउपडी प्रथामुक्त गाउँ बनाउने अभियानले नेपाल प्रहरीका लागि ऐतिहासिक उपलब्धि कायम गरेको हो।
भण्डारीले भने, “समुदायमै पुगेर सामाजिक रूपान्तरणको काम गर्दै अन्तर्राष्ट्रिय स्तरको पहिलो सम्मान पाउनु नेपाल प्रहरीका लागि गौरवको विषय हो।”