ढुङ्गानाको नेतृत्वमा रहेको समूहले प्रत्यक्ष कार्यकारी प्रणाली सुनिश्चित नहुँदासम्म कुनै पनि निर्वाचनमा भाग नलिने
News Desk
Oct-19 , 2025 तारिख 12:15 बेलुका

काठमाडौँ | ‘जेनजी’ आन्दोलनका अगुवा मिराज ढुङ्गानाको नेतृत्वमा रहेको समूहले प्रत्यक्ष कार्यकारी प्रणाली सुनिश्चित नहुँदासम्म कुनै पनि निर्वाचनमा भाग नलिने घोषणा गरेको छ। नयाँ बानेश्वरमा आज आयोजित पत्रकार सम्मेलनमार्फत ढुङ्गानाले आफ्नो समूहको प्रमुख एजेन्डा सार्वजनिक गर्दै उक्त कुरा बताएका हुन्।

उनका अनुसार, प्रत्यक्ष कार्यकारी शासन व्यवस्था र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गरिनु नै समूहको ‘बटमलाइन’ हो। यी माग पूरा नभएसम्म उनीहरूले चुनावी प्रक्रियामा सहभागी नहुने स्पष्ट चेतावनी दिएका छन्।

ढुङ्गानाले भने, “हामीले जेनजी आन्दोलनलाई दिशाहीन हुन नदिन राजनीतिक दल गठन गर्ने निर्णय गरेका हौँ, तर हाम्रो मूल एजेन्डा पूरा नहुँदासम्म चुनावमा जाँदैनौँ।” उनले पार्टीको नाम र संरचनाबारे सुझाव सङ्कलन भइरहेको जानकारी पनि दिए।

उनले भ्रष्टाचार नियन्त्रणका लागि नागरिकस्तरीय छानबिन समिति गठन गर्नुपर्ने र आर्थिक रूपान्तरणका लागि ठोस नीति आवश्यक रहेको उल्लेख गरे। उनका अनुसार, सुशासन, पारदर्शिता र उत्तरदायित्वमा आधारित शासन प्रणाली स्थापित गर्नु नै जेनजी पुस्ताको मुख्य लक्ष्य हो।

ढुङ्गानाले थपे, “हामी जेनजी आन्दोलनका बलिदानलाई खेर जान दिँदैनौँ। देश विकासका लागि सामूहिक प्रतिबद्धता र सहकार्य आवश्यक छ।” उनले आर्थिक समृद्धिलाई राष्ट्रिय साझा सङ्कल्पको रूपमा अघि सार्न सबैलाई आग्रह गरे।

देशमा रोजगारीको अवसर नहुँदा लाखौँ युवाहरू विदेशिन बाध्य भएको र त्यसले राष्ट्रलाई कमजोर बनाएको उल्लेख गर्दै उनले बन्द रहेका कलकारखाना पुनः सञ्चालन गर्न, रोजगारी सिर्जना गर्न र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरे।

“छिमेकी दुई विशाल जनसङ्ख्या भएका मुलुकलाई लक्षित गरेर उत्पादन वृद्धि गर्न सक्नुपर्छ,” उनले भने, “आर्थिक स्वावलम्बन र राष्ट्रिय गौरवका लागि यो नै हाम्रो बाटो हो।”