काउन्सिल​बाट​ सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेल समक्ष प्रस्तु
News Desk
Oct-20 , 2025 तारिख 12:40 बेलुका

प्रेस काउन्सिल नेपालले पत्रकारिता आचारसंहिता र मिडिया अनुगमनलाई अझ प्रभावकारी बनाउन नयाँ कार्ययोजना तयार गरेको छ। उक्त कार्ययोजना सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल समक्ष प्रस्तुत गरिएको हो।

सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा काउन्सिलका पदाधिकारी र कर्मचारीहरूको टोलीले आगामी कार्यक्रमहरूको कार्ययोजना पेस गरेको थियो। सो अवसरमा मन्त्री खरेलले काउन्सिलको अनुगमन कार्यलाई सहज र परिणाममुखी बनाउन मन्त्रालयले आवश्यक सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले अनुगमन, तथ्यजाँच र निर्वाचन विशेष अनुगमनलाई अझ व्यवस्थित र सुदृढ बनाउन सुझावसमेत दिनुभयो।

काउन्सिलले प्रस्तुत गरेको कार्ययोजनाअनुसार कात्तिक महिनाभर विशेष अनुगमन, मङ्सिरदेखि तथ्यजाँच प्रक्रिया, र आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचन सन्दर्भमा विशेष अनुगमन कार्यक्रम सञ्चालन गरिनेछ। यसका लागि आवश्यक बजेट र कार्यक्रम संरचना पनि मन्त्रालयलाई हस्तान्तरण गरिएको छ।

काउन्सिलका सदस्य शन्तराम बिडारीका अनुसार, यो कार्ययोजनाको उद्देश्य काउन्सिलको आचारसंहितासम्बन्धी अनुगमनलाई सशक्त बनाउने र निर्वाचन सफल पार्ने सरकारी प्रयासलाई सहयोग पुर्‍याउने हो। यसले मिडिया आचारसंहिता पालना र निर्वाचनसम्बन्धी प्रचारप्रसारको निगरानीमा थप प्रभावकारिता ल्याउने अपेक्षा गरिएको छ।

सञ्चारमन्त्री खरेलले केही समयअघि काउन्सिल भ्रमणका क्रममा यसको कामलाई गतिशील र परिणाममुखी बनाउने कार्ययोजना ल्याउन निर्देशन दिनुभएको थियो। सोही निर्देशनअनुसार, प्रेस काउन्सिलले नयाँ कार्ययोजनासहित आफ्नो भूमिकालाई अधिक सक्रिय र प्रभावकारी रूपमा अघि बढाएको जनाएको छ।