जेन​जी घाइतेहरूलाई कार्य व्यस्तता कारण प्रधानमन्त्रीले दिईन​न भेट​
News Desk
Oct-20 , 2025 तारिख 12:47 बेलुका

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारमा पुगेका जेन–जी आन्दोलनका घाइतेहरूसँग भेट गर्न अस्वीकार गर्नुभएको छ।

पाँच बुँदे मागसहित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुगेका घाइतेहरूलाई प्रधानमन्त्रीले कार्य व्यस्तता कारण देखाउँदै भेट गर्नबाट पन्छिनुभएको हो।

जेन–जीका घाइतेहरू बिहान ९ बजेदेखि सिंहदरबारमा उपस्थित भएका थिए, तर प्रधानमन्त्री कार्की बिहानैदेखि बालुवाटारबाट बाहिर ननिस्किएकी थीन। लामो प्रतिक्षापछि भेट नपाएपछि उनीहरू आक्रोशित हुँदै प्रधानमन्त्री कार्यालयमै आफ्नो असन्तुष्टि व्यक्त गरे।

घाइतेहरूले भदौ २३ र २४ गते भएको गोलीकाण्डका दोषीमाथि तत्काल न्यायिक कारबाही, संवैधानिक सुधार र जनमत संग्रहको माग, जेन–जी आन्दोलनको संरक्षण र कानूनी सुरक्षा सुनिश्चितता, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति, संवैधानिक निकायहरूमा स्वच्छ नियुक्ति, र विदेशी हस्तक्षेप अन्त्य गर्न माग गरेका छन।

उनीहरूले सरकारलाई पाँच दिनभित्र माग पूरा गर्न अल्टिमेटम पनि दिएका छन।
प्रधानमन्त्रीको अनुपस्थितिपछि, उनका मुख्य सल्लाहकार अजयभद्र खनालले सञ्चारकर्मीहरूलाई जानकारी दिँदै भने, “प्रधानमन्त्रीज्यू आज बालुवाटारबाटै सरकारी काममा व्यस्त हुनुहुन्छ, त्यसैले भेट गर्न सम्भव भएन।”

गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा दर्जनभन्दा बढी व्यक्ति घाइते भएका थिए, जसमा केहीको उपचार अहिले पनि जारी छ।