तिहारको सांस्कृतिक, धार्मिक, पौराणिक, व्यावहारिक, मनोवैज्ञानिक तथा वैज्ञानिक महत्त्व छ​ : राष्ट्रपति
News Desk
Oct-20 , 2025 तारिख 09:05 बिहान

काठमाडौं, कात्तिक ३ | राष्ट्रपति भवन, महाराजगञ्जबाट जारी गरिएको सन्देशमार्फत राष्ट्रपतिरामचन्द्र पौडेलले नेपालीहरूको दोस्रो महान् पर्व तिहार २०८२ को अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

राष्ट्रपतिले नेपाललाई मौलिक संस्कृतिले भरिएको देशका रूपमा उल्लेख गर्दै विभिन्न चाडपर्वहरूले विविधतामा एकता ल्याउने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो। उहाँका अनुसार तिहार हिन्दूहरूको महान पर्व हो, जसले विभिन्न जात, भाषा र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने माध्यम बनेको छ।

सन्देशमा भनिएको छ, “तिहार पर्वलाई यमपञ्चक पनि भनिन्छ। यस पर्वमा काग, कुकुर, गाई, गोरु, पर्वत आदिको सम्मान र पूजा गरिन्छ। लक्ष्मीपूजाको दिनमा धनकी देवी लक्ष्मीको आराधना र भाइटीकाको दिनमा दिदीबहिनी र दाजुभाइबीच आपसी स्नेह र सद्भाव साटासाट गर्ने परम्परा रहिआएको छ।”

राष्ट्रपतिले गोवर्द्धन पर्वत, जनावर, प्रकृति र मानवबीचको सुमधुर सम्बन्धलाई प्रगाढ बनाउने तिहारले परिवार, समाज र प्रकृतिप्रतिको प्रेम झल्काउने बताउनुभयो। उहाँले दियो बाल्ने, मिठा परिकार बाँड्ने र देउसी–भैलो खेल्ने परम्परालाई नेपालको मौलिक संस्कृतिको संरक्षण गर्ने माध्यमका रूपमा व्याख्या गर्नुभएको छ।

सन्देशमा तिहारको सांस्कृतिक, धार्मिक, पौराणिक, व्यावहारिक, मनोवैज्ञानिक तथा वैज्ञानिक महत्त्व औंल्याउँदै राष्ट्रपतिले यस उज्यालो र प्रकाशको पर्वले सत्य, न्याय र सुशासनतर्फ सबै नेपालीलाई प्रेरित गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ।

राष्ट्रपतिले अन्त्यमा तिहार पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व, सुशासन र समृद्धिको भावना अभिवृद्धि गर्न सकोस् भन्ने कामना गर्नुभएको छ।

सन्देश ने.सं. ११४५ कौलागा चतुर्दशी, २०८२ साल कात्तिक ३ गते सोमबारका दिन राष्ट्रपति भवनबाट जारी गरिएको हो।

धेरै पढिएको