आगामी फागुन २१ गते हुने आमनिर्वाचनबारे प्रधानमन्त्रीद्वारा प्रमुख दलहरूसँग छलफल, पर्यवेक्षकको समेत सहभागिता
News Desk
Oct-22 , 2025 तारिख 11:06 बिहान

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको आमनिर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख राजनीतिक दलहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाउनु भएको छ। यो छलफलमा सरकारका उच्च पदाधिकारीहरू र राजनीतिक दलका वरिष्ठ नेताहरूको उपस्थितिसँगै, पर्यवेक्षकको रूपमा केदारभक्त माथेमा र विद्याधर मल्लिक पनि सहभागी छन्।

सरकारतर्फबाट प्रधानमन्त्री कार्कीका साथै अर्थमन्त्री रामेश्वर खनाल, उर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल र कृषिमन्त्री मदन परियार छलफलमा सहभागी भएका छन्। प्रधानमन्त्री नियुक्त भएपछि कार्कीले राजनीतिक दलहरूसँग प्रत्यक्ष संवाद गरेको यो पहिलो पटक हो।

विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरूबाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशशरण महत, एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली, माओवादी केन्द्रका पम्फा भुसाल र वर्षमान पुन छलफलमा सहभागी भए।

त्यसैगरी, रास्वपाबाट स्वर्णिम वाग्ले र सोविता गौतम, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र प्रकाश ज्वाला, जसपा नेपालका उपेन्द्र यादव र प्रकाश अधिकारी, राप्रपाबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ तथा जनमत पार्टीका महामन्त्री चन्दन सिंहले पनि उपस्थिति जनाए।

यस्तै, लोसपाबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्तिपक्षबाट रेशम चौधरी र नेमकिपाका प्रेम सुवालसमेत छलफलमा सहभागी भएका छन्।

यद्यपि, निर्वाचन मिति तोकिए पनि सरकारले राजनीतिक दलहरूसँग पूर्वपरामर्श नगरेको भन्दै आलोचना भइरहेका थिए। यसअघि भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनको पृष्ठभूमिमा गठित कार्की नेतृत्वको सरकारले निर्वाचनको कार्यादेश पाएको हो।