News Desk
तिहारको अवसर पारेर जुवातास खेलिरहेको गुप्त सूचनाको आधारमा प्रहरीले पोखराका विभिन्न स्थानमा छापा मार्दै २० जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (प्रनाउ) हरिबहादुर बस्नेतका अनुसार पक्राउ परेकाहरुको साथबाट कुल छ लाख दुई हजार एकसय पाँच रुपैयाँ नगद बरामद गरिएको छ।
पोखरा महानगरपालिका–९, नयाँबजारबाट पाँच जनालाई पक्राउ गरिएको छ। ती व्यक्तिहरूसँग दुई लाख ५१ हजार ४५५ रुपैयाँ नगद र २१२ पत्ती तास बरामद गरिएको प्रहरीको भनाइ छ।
त्यस्तै, पोखरा–२६ विजयपुरस्थित लप्सीबोट सामुदायिक वनमा जुवा खेलिरहेका सात जनालाई नियन्त्रणमा लिएको छ। उनीहरुको साथबाट १४ थान कौडा र नगद ७७ हजार २०५ रुपैयाँ फेला परेको छ।
यसैगरी, पोखरा–२ मोहोरियाटोलबाट आठ जना पक्राउ परेका छन्। प्रहरीका अनुसार उनीहरुको साथबाट छ बुक तास र दुई लाख ७३ हजार ४४५ रुपैयाँ बरामद भएको छ।
प्रनाउ बस्नेतले तिहारजस्ता चाडपर्वको समयमा जुवातासमा संलग्न हुनेलाई नियन्त्रणमा लिन प्रहरी सतर्क रहेको जानकारी दिनुभयो। पक्राउ परेकाहरूमाथि हाल अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।