मानसरोवर–कैलाश दर्शनका लागि लाप्चा पुग्ने नेपालीहरूलाई सिमानामा रोकतोक
News Desk
Oct-25 तारिख 06:11 बिहान

नेपाल–चीन सिमानासँग जोडिएको हुम्लाको नाम्खा गाउँपालिका–६ लाप्चा क्षेत्रमा हाल चिनियाँ सुरक्षा निकायले नेपाली तीर्थयात्रीहरूको आवागमनमा रोक लगाएको छ। पछिल्ला दिनमा मानसरोवर–कैलाश दर्शनका लागि लाप्चा पुग्ने नेपालीहरूलाई सिमानासँग नजिक जान नदिइने गरिएको छ।

स्थानीय स्रोतका अनुसार, चिनियाँ सीमातर्फका सुरक्षाकर्मीहरूले नेपालतर्फ रहेका तीर्थयात्रीहरूलाई माइकिङमार्फत सचेत गर्दै अगाडि नजान आग्रह गर्ने गरेका छन्। फोटोपत्रकार अभिनास लामाले बताए, “हामी नेपाली भूमिभित्रै थियौँ, तर चिनियाँ सुरक्षाकर्मीले माइकिङ गर्दै अघि नजान चेतावनी दिएपछि २० जनाको हाम्रो टोली दर्शनस्थल पुग्नुअघि नै फर्किन बाध्य भयौँ।”

स्थानीयवासीहरूका भनाइअनुसार, नेपालमा हाल उत्पन्न राजनीतिक तथा सुरक्षा संवेदनशीलताको कारण सिमानाक्षेत्रमा निगरानी कडाइ गरिएको हुन सक्छ। लाप्चा नेपालकै भूमिबाट मानसरोवर ताल र कैलाश पर्वत दर्शन गर्न सकिने दुर्लभ स्थान हो, जहाँ दैनिक रूपमा दर्जनौँ भक्तजन पुग्ने गर्छन्।

नेपाल पत्रकार महासंघ हुम्लाको हालै सम्पन्न चौथो बैठकमा सहभागी सञ्चारकर्मीहरूले पनि यही रोकका कारण दर्शनस्थल पुग्न नसकेको बताएका छन्। महासंघका अध्यक्ष राजन रावतका अनुसार, “हामीले स्थानीयहरूबाट अहिले कसैलाई माथि जान नदिइने जानकारी पाएपछि तलमै बैठक गरी फर्कियौँ।”

स्थानीय प्रशासनले भने यसबारे हालसम्म कुनै औपचारिक जानकारी नआएको जनाएको छ।