निर्वाच​न​का लागि आधा सवारी भारतबाट र आधा चीनबाट लिने निर्णय
News Desk
Oct-25 , 2025 तारिख 12:06 बेलुका

आगामी निर्वाचनका लागि नेपालले चीन र भारत दुवै देशबाट बराबरी संख्यामा सवारी साधन सहयोगस्वरूप लिने भएको छ। दुवै छिमेकीले सहयोग गर्न इच्छुक रहेको जानकारी दिएपछि नेपालले समतोल नीति अपनाउँदै आधा सवारी भारतबाट र आधा चीनबाट लिने निर्णय गरेको हो।

प्रधानमन्त्री सुशीला कार्कीले भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत छन सङसँग अलग-अलग भेटमा निर्वाचनलाई सरकारको मुख्य प्राथमिकता बताएकी थिइन्। दुवै राजदूतले निर्वाचनका लागि आवश्यक सहयोगका वाचा गरेका थिए।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री कार्की, मन्त्रीहरू र सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा भएको छलफलमा निर्वाचनका लागि करिब चार सय सवारी साधन आवश्यक पर्ने निष्कर्ष निकालिएको थियो।

स्रोतका अनुसार, एक छिमेकीबाट मात्र सहयोग लिँदा सन्तुलनमा प्रश्न उठ्न सक्ने भएकाले नेपालले दुवै देशबाट बराबरी सहयोग लिने नीति बनाएको हो। अन्य देशले पनि सहयोगको वाचा गरे पनि दूरी र समयका कारण चीन र भारतकै सहयोगलाई प्राथमिकतामा राखिएको छ।