News Desk
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दै दुई नयाँ सदस्य थपेकी छिन्। नयाँ मन्त्रीहरू डा. सुधा शर्मा र बब्लु गुप्ताले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। यससँगै मन्त्रिपरिषद् सदस्यसंख्या १० पुगेको छ।
डा. शर्मालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ। शपथ समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरेलगायत उच्च अधिकारीहरूको उपस्थिति थियो।
प्रधानमन्त्री कार्कीले यसअघि ४ जना नयाँ मन्त्री सिफारिस गरेकी थिइन्, तर अन्तिम क्षणमा खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको नाम फिर्ता गरिएको थियो। श्रेष्ठले आफूले चाहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सट्टा भूमि मन्त्रालय दिइएपछि असन्तुष्टि जनाएका थिए। उता, श्रममन्त्रीमा सिफारिस भएका सुनारविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेको उजुरी आएपछि उनको नाम हटाइएको हो।
प्रधानमन्त्री बनेकी सुशीला कार्कीले भदौ ३० गते पहिलोपटक तीन मन्त्री नियुक्त गरेकी थिइन्, त्यसपछि असोज ७ गते दोस्रो विस्तार गर्दै चार मन्त्री थपेकी थिइन्।
नवनियुक्त स्वास्थ्यमन्त्री डा. सुधा शर्मा स्त्रीरोग तथा जनस्वास्थ्य विशेषज्ञ हुन्। २०३९ सालमा जिल्ला अस्पतालबाट सेवा सुरु गरेकी उनी पछि स्वास्थ्य सचिवसम्म पुगेकी थिइन्। नेपाल चिकित्सक संघकी पूर्वअध्यक्षसमेत रहेकी डा. शर्मा ‘सिंहदरबारको घुम्ने मेच’ र ‘अप्रमेय’ पुस्तककी लेखिका हुन्।
युवा तथा खेलकुदमन्त्री बनेका बब्लु गुप्ता सामाजिक अभियन्ता हुन्। उनले कोभिड महामारीका बेला ‘निःशुल्क खाना वितरण’ र ‘कपडा बैंक’ अभियान सञ्चालन गरेका थिए। ‘हन्ड्रेड ग्रुप’ मार्फत शिक्षामा सहयोग, रक्तदान समन्वय र सामाजिक सेवामा सक्रिय गुप्ता नयाँ पुस्ता जेन-जीको प्रतिनिधित्व गर्दै मन्त्री बनेका हुन्।